
१३ माघ,स्याङ्जा । नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीयबासी आन्दोलनमा उत्रिएका छन्। बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द गरेका छन्। प्रभावित क्षेत्रका सर्वसाधारणले अन्यत्र उत्पादन भएको विद्युत् नभई कालीगण्डकी जलविद्युत् आयोजनाको ट्रान्सर्फमरबाट विद्युत् पाउनुपर्ने माग राखेका छन्।
सिँचाइका लागि पाइप, बेलटारी चोकदेखि इरिखोलासम्म पक्की सडकलगायतका माग उनीहरुले राखेका छन्। स्थानीय बासिन्दाले प्राधिकरणबाट पाएको सुविधा समेत कटौती भएको आरोप लगाएका छन्। आयोजना निर्माण हुँदा आफूहरुको जग्गा जमिन सबै सकिएको र आयोजनाको निर्माणपश्चात सो ठाउँको विकास हुने सोचे पनि खानेपानी र उपभोग गरेको बाटोसमेत बन्द भएपछि बाध्य भएर आन्दोलनमा उत्रिन परेको स्थानीय अनिस न्यौपानेले बताए।
विद्यालय र गाउँलेलाई खानेपानीको समस्या हुँदा समेत आयोजनाले चासो नदेखाएको उनले गुनासो गरे। आयोजनाका प्रमुख राजेश पाण्डेले स्थानीयवासीको आन्दोलनले पावरहाउस जाने बाटो बन्द भएको र सवारीसाधन आवतजावत हुन नसकेको जानकारी दिँदै हालसम्म स्थानीय बासिन्दाले आफूहरुसँग कुनै पनि माग औपचारिक रूपमा नराखेको बताए। आफूले प्रशासन र आयोजना रहेको गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलाई जानकारी गराएको प्रमुख पाण्डेले बताए।
