भारतीय गाडी चढेर संसदमा मनाङेको ईन्ट्री

Share:

विशन क्षेत्री, पोखरा । सपथग्रहण गरेको भोलिपल्टै मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे भारतीय गाडी लिएर प्रदेशसभामा छिरेका छन् ।

मंगलबार मनाङेले गाडी लिएर निर्वाध प्रदेशसभा भवन परिसरमा छिर्दा गेटमा रहेका सुरक्षाकर्मीले पनि सोधपुछ गरेनन् । सञ्चारकर्मीको सोधपुछको क्रममा मनाङेले भने, ‘मेरो गाडी होईन, भाईको हो, भित्र ल्याउन पाउने नपाउने कुरा त्यो त प्रहरीले हेर्नुपर्ने हो भित्र ल्याउन पाउँछ कि नाई, उनीहरुले जान्नुपर्ने कुरा हो ।’

उनले भारतीय नम्बरको गाडी प्रदेशसभामा ल्याउन पाउने नपाउने भन्दा पनि दिनको ४ सय ५० रुपैयाँ तिरेको छ, छैन त्यो बुझ्न सुझाव दिए । ‘मैले रसिद देखाउँला, गाडी भित्र ल्याउन किन नपाईने हो, भारतले त्यत्रो एम्बुलेन्स दिईराख्छ, के त्यो ल्याउन नपाउने हो, उड्न पो नहुने गुड्न त हुन्छ नि ।’ २ नम्बर प्रदेशका मुख्यमन्त्रीहरु नै भारतिय गाडी चढेर निर्वाद हिँडिरहने भन्दै उनले यो ठुलो कुरा नभएको बताए ।

यस विषयमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले यसबारे कानुनी कार्यविधी हेर्नुपर्ने बताए । प्रदेशसभा सुरक्षार्थ खटिएका सई चन्द्रबहादुर खत्रीले गाडी भित्रिएपछि मात्र थाहा पाएको बताए । ‘माननीयको गाडी रोक्ने कुरा भएन, गेटमा खटिएका सुरक्षाकर्मीले भनेनन्, तर मैले जिल्लालाई रिपोर्टिङ गरिसकेको छु ।’ उनले भने, ‘आज भयो, भोलिदेखि नल्याउने भन्ने कुरा भएको छ ।’

प्रदेशसभा परिसरमै भारतीय गाडीको चर्चा हुन थालेपछि मनाङे चढेर आएको गाडी प्रदेशसभाको भित्री गेटबाट बाहिर निकालिएको छ ।

तस्विरः अनलाइनखबरबाट ।

कमेन्ट गर्नुहोस्
Share: