पोखरामा गर्जिए गगन : काँग्रेसको यो ट्रेलर मात्रै,चलचित्र पछि देखाउँछौं,कांग्रेस फेरी सरकारमा आउँछ

Share:

पोखरा, २१ माघ । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले केपी ओली नेतृत्वको सरकार माफियाको सरकार रहेको आरोप लगाएका छन् । नेपाली काँग्रेसले राष्ट्रव्यापी रुपमा गरेको विरोध कार्यक्रम अन्तर्गत पोखरामा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार माफियाको लागि बोल्ने सरकार रहेको बताए । उनले देश चलाउने ढंग नै नभएको आरोप लगाउँदै प्रधानमन्त्री नक्कली कुरा मात्रै गर्ने बताए ।

‘पहिलोपटक मैले नेपालको प्रधानमन्त्री यस्तो देखेको छु जो अगाडि आएको समस्याको समाधानभन्दा पनि तथ्यहरु बंग्याउँछ। केबल नक्कली कुरा मात्रै गर्छ। प्रधानमन्त्रीको नक्कली कुराको ठुलो मूल्य चुकाउनुपर्ने बेला आउन लागेको छ,’ उनले भने, ‘यस्तै अबस्था दुई–तीन महिना रह्यो भने देश हेर्दाहेर्दै कंकालीकरणको बाटोमा जान्छ। देश चलाउने ढंग नहुँदै गर्दा अर्थतन्त्र राम्रो निर्माण गर्ने अबसर पाउँदा सरकारको बेढङ्गी कामले गर्दा अर्थतन्त्र चौपट हुने ठाउँमा र्पुयाएको छ। यो सरकारको मन्त्री मण्डल भ्रष्टहरुबाट बनेको छ। कुनै मन्त्रालय चोखो छैन।’

सरकारलाई चलचित्र देखाउनै बाँकी छ थापाले अहिले कांग्रेसले गरेको विरोध कार्यक्रमहरु ट्रेलर मात्रै भएको बताए। ‘हामीले सिट्ठी बजाउन बाँकी नै छ। हामीले चलचित्र देखाउन बाँकी नै छ। यो ट्रेलर मात्रै हो। यो सरकारलाई चलचित्र कस्तो हुन्छ केहि समयपछि देखाउँछौँ,’ उनले भने। प्रधानमन्त्रीले संघीयता मास्न लागे देशमा संघीयता मास्न प्रधानमन्त्री नै लागि परेको उनको आरोप छ। उनले भने ‘संघीयता मन नपराउने प्रधानमन्त्री, गणतन्त्र मन नपराउने राष्ट्रपति, संसद मन नपराउने सभामुख, चल्छ अनि ?’

‘सात सात वटा प्रदेश सरकार बनाएको छ। तर, नेपालमा प्रधानमन्त्रीलाई सामान्य हेक्कासमेत पनि छैन,’ उनले भने, ‘नेपालमा संघीयता सबै भन्दा मन नपराउने मान्छे चित्रबहादुर केसी हो। उहाँ सबैभन्दा इमान्दार हुनुहुन्छ। उहाँले भोट माग्दै गर्दा पनि संघीयता काम छैन भनेर माग्नु भो। तर, जनताको बीचमा आएर संघीय नेपालको नेतृत्व गर्छु भनेर भोट माग्ने केपी ओली यस कारणले इमान्दार होइन बेइमान हुनुहुन्छ। किनकी नेपालको संघीयता मास्नको लागि आजको दिनको कोही उद्दत छ भने प्रधानमन्त्री केपी ओली हुनुहुन्छ।’ उनले प्रधानमन्त्रीले संघीयता मास्न प्रधानमन्त्री नै लागेको भन्दै विभिन्न प्रमाण समेत पेश गरे।

सरकार केबल माफियाको लागि मात्रै बोल्ने उनको आरोप छ । उनले भेनेजुएलाको बारेमा बोल्नै नपर्ने विषयमा बोलेको भन्दै विरोध पनि गरे। ‘अहिलेको नेकपा जाने बाटो भनेकै भेनेजुयलाको बाटो नै हो। न यहाँ पहिलेको राम्रो एमाले रहेको छ, न राम्रो माओवादी नै रहेको छ। जे गरेनी सहिरहने जिम्बेवारबाट निस्कने पार्टी होइन कांग्रेस मादल बजाएर बस्ने। हामी माथी गरेको प्रत्येक हिसाब किताब लिएर कांग्रेस फेरी सरकारमा आउँछ।’ सरकारले गरेको हिसाब किताब खोज्न सबै सचेत भएर बस्न उनले आग्रह गरे। कास्की कांग्रेसल पृथ्वीचोकबाट निकालेको विरोध जुलुस, सभागृह चोक, न्यूरोड हुँदै महेन्द्र पुल पुगेर कोण सभामा परिणत भएको थियो।

तस्बीर-जक्सन डटकम

कमेन्ट गर्नुहोस्
Share: