
माघ २७, पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार दुईवटा विधेयक प्रमाणीकरण गरेका छन् । वर, पीपल, समी र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक र सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका पाँच/पाँच प्रतिमा हस्ताक्षर गरी प्रमाणीकरण गरेका हुन् ।
गण्डकी प्रदेश सभाले माघ ८ गते पारित गरेका दुई विधेयकलाई गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले माघ १५ गते प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ ।
सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्छ। गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं सूचना अधिकारी विश्व प्रकाश न्यौपानले प्रदेश प्रमुख कुँवरले प्रमाणीकरण गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको जानकारी दिए।
सूचना अधिकारी न्यौपानले बाँकी चारप्रतिमध्ये आइतबार नै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेशसभाको सचिवालय र संघिय कानून तथा संसदीय व्यवस्था मन्त्रालयमा एक/एक प्रति पठाइएको छ ।
