काममा नफर्किदा तनहुँ हाइड्रोपावरले पनि तोड्यो सीएमसीसँगको ठेक्का, आयोजना समयमै सक्न चुनौती

Share:

फागुन ७, तनहुँ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गरेको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेडले मंगलबार टर्मिनेसन लेटर दिएको हो । काम थाल्न दिईएको २८ दिनको समयसीमामा सीएमसी काममा नफिर्कएपछि ठेक्का रद्द गरिएको तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले जानकारी दिए ।

सम्झौता तोडिएपछि अब नयाँ प्रक्रियाबाट कम्पनी छनोट हुने उनले जानकारी दिए । उनका अनुसार सीएमसीको कार्यसम्पादन जमानत जफत गर्न पनि दावी गर्ने तयारी छ । सीएमसीले ठेक्का सम्झौता गर्दा १ अर्ब ९७ करोड धरौटी राखेको छ ।

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनीले तनहुँ जलविद्युत आयोजनाको काममा नजाँदै आर्थिक संकटमा फसेपछि नेपालबाट बाहिरिएको छ।

कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित) मा खरिद सम्झौता भएको थियो । आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।

यो आयोजनाको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ । तर, सीएमसीका कारण आयोजना समयमै सक्न चुनौती देखिएको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख -प्रसारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।

यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: