
फागुन ०९, पोखरा । आयोजक सहारा क्लब पोखरालाई सडनडेथमा पराजित गर्दै विभागीय नेपाल एपीएफ क्लब १७ औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा एपएिफले आयोजकमाथि सडनडेथमा ५–४ को जित निकालेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरी र थप गरिएको समयमा कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा एपीएफका सुदिप शिख्राकार, सन्तोष कटवाल, बिकी लामा र अशिष लामाले गोल गरेका थिए । रोमन रसाइली भने गोल गर्न चुके । सहाराका साहिद अनिफोसे, पदम भट्टराई, अनिल गुरुङ र विष्णु गुरुङले गोल गर्दा कप्तान सुशिल लामा गोल गर्न असफल भए ।
५ पेनाल्टीमा ४–४ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा एपीएफका बुद्धिमान राईले गोल गर्दा साहराका अन्जन देवकोटाले गोल गर्न सकेनन् । त्यसअघि खेलको १७ औं मिनेटमा घरेलु टोली साहराले विनोद गुरुङको गोलबाट अग्रता बनाएको थियो । तर एपीएफका आशिष लामाले १८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।
शुक्रबार हुने खेलमा हिमालयन शेर्पा र धरान फुटबल क्लब सुनसरी भिड्ने छन् । प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । हिम श्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा १८ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको चर्चित ‘ए’ डिभिजन क्लबका साथै दुई विदेशी टोली गरी १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब सुनसरी, विभागीय टोली, नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) विदेशी टिम डफिन्स फेमिली टिम क्यामरुन, युनाइटेड सिक्किम भारत र आयोजक गरी १० सहभागी छन् ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई यसवर्ष भने स्कुटर प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।
यसको पुरस्कार राशि ३५ हजार छ । त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने महासचिव विश्वराज बरालले जानकारी दिए ।

