
रञ्जन अधिकारी पोखरा, १८ भदौ। युवाहरुको सामाजिक संस्था पोखरा जेसीजले भदौ २० देखि २२ गतेसम्म जेसीज वीकइण्ड आयोजना गर्ने भएको छ। स्थानीय सङ्घ÷संस्थावीचको सम्वन्ध सुमधुर बनाउने, युवा सचेतना कार्यक्रम परिष्कृत गर्ने, विद्यार्थीहरुको व्यत्तित्व विकासमा सहयोग पु¥याउने र जेसीज गतिविधिलाई समाजमा परिचित गराउने लगायतका उद्देश्यले कार्यक्रम गर्न लागेको हो।
पोखरा जेसीजले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। वीकइण्ड अन्तर्गत भदौ २० गते शुक्रबार विदेशी संस्कृतिले नेपाली संस्कृतिमा पारेको प्रभाव विषयक अन्र्तक्रिया कार्यक्रम, २१ गते शनिवार निःशुल्क दन्त शिविर र २२ गते आइतबार समापनसँगै फेसबुक आवश्यक कि अनावश्यक विषयक बादबिबाद प्रतियोगिता गरिने कार्यक्रम संयोजक गोविन्दप्रसाद देवकोटाले जानकारी दिए।
अन्तरक्रिया कार्यक्रमको संयोजक देवराज शर्मा, दन्त शिविरको संयोजक शालिकराम गिरी र बादबिबाद तथा समापन कार्यक्रमको संयोजक सन्तोष शाहीलाई तोकिएको छ।
लामो समयसम्म जेसीज सप्ताह गरी हप्तादिनसम्म विविध कार्यक्रमहरु संचालन गरिदै आएकोमा सन् २००९ देखि जेसीज वीकइण्ड गर्न लागिएको हो। गत वर्ष मिस पोखरा आयोजना गरेको जेसिजले वीकइण्ड कार्यक्रम भने गर्न सकेको थिएन ।
कार्यक्रम सम्पन्न गर्नका लागि एक लाख ५० हजार रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। कार्यक्रमका लागि सदस्यबाट नै आर्थिक संकलन गरिने बताइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा जेसीजका अध्यक्ष तिलकराम पौडेलले कार्यक्रममा सहभागिताका लागि सवैलाई अनुरोध गरेका छन्। पत्रकार सम्मेलनमा पोखरा जेसीजका निवर्तमान अध्यक्ष विष्णु थापा र सदस्य शालिकराम तिवारीले पनि बोलेका थिए। पोखरा जेसीजका अध्यक्ष तिलकराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा सम्पादक देवराज शर्माले स्वागत र महासचिव धर्मराज अर्यालले कार्यक्रम संचालन गरेका थिए।
युवाहरुको नेतृत्व तथा व्यत्तित्व विकासलाई विशेष प्राथमिकता दिदै आएको जेसीज१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुको संस्था हो। पोखरामा एक सय तीन जना युवा जेसीजमा आवद्व छन्। केहि गरौभन्ने युवाहरु मिलेर सन् १९७५ मा पोखरा जेसीज स्थापना गरेका हुन्।
