
पोखरा, १४ फागुन । तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी रिहा भएका छन् । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ परेकोमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक अपराध मुद्दा लगाएको थियो ।
पक्राउ परेका १३ जनालाई रिहा गरेर बाँकीलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो । अबदेखि कुनै पनि अपराधजन्य काम नगर्ने कागज गरेर सोमबार विद्यार्थी थुना मुक्त भएको कास्कीका सिडिओ चक्रबहादुर बुढाले जानकारी दिए ।
सार्वजनिक अपराध मुद्दा लागेका प्रदीप भट्ट, विनायक तिमल्सिना, सिपी ओझा, विनोद गिरी, विक्रम गैरे, आशीष केसी, बबिस मगर, गणेश रिमाल र लेखनाथ न्यौपाने जिल्ला प्रशासन कार्यालयमा कागज गरेर रिहा भए । सार्वजनिक अपराध मुद्दा लगाइएपछि विश्वविद्यालयमा अरु केही विद्यार्थीले आमरण अनसन थालेका थिए । विद्यार्थी रिहा भए पनि विद्यार्थीले अनसन भने तोडेका छैनन् ।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताए । विद्यार्थीले कापी परीक्षणमा लापरबाही भएको दाबी गर्दै फेरि परीक्षा लिनुपर्ने माग गरेका छन् ।
चार दिनदेखि आमरण अनसन
यसैबीच, विद्यार्थीहरुले चार दिनदेखि आमरण अनसन जारी राखेका छन् । ४० जनाले परीक्षा दिएकोमा ३८ जनाको फेल आएको भन्दै विद्यार्थीहरु असन्तुष्ट बनेका छन् । टपर विद्याथीृहरु समेत फेल भएकाले उत्तरपुस्तिका जाँच वा नतिजा प्रकाशनमै त्रुटी भएको भन्दै उनीहरुले यसलाई नमान्ने बताउँदै आएका छन् । लापरवाही भएकाले उत्तरपुस्तिका निशुल्क पुनस्परिक्षण गर्न विद्यार्थीहरुको माग छ ।
पोखरा विश्वविद्यालय प्रशासनले यसतर्फ गम्भिरतापूर्वक नहेरेको भन्दै तुरुन्त माग सम्बोधन गर्न आग्रह गरेका छन् । नतिजा चित्तबुझ्दो नभएसम्म अनसन जारी नै रहने उनीहरुको भनाई छ ।
