
स्याङ्जा, फागुन १४। क्याम्पस हाताभित्र रहेको खानेपानीको धारामाथि टासिएको शिलालेखमा नाम नसच्चाएको भन्दै नेपाल विद्यार्थी संघ गल्याङ इकाईले क्याम्पस प्रमुखलाई थुनेका छन्। क्याम्पस प्रमुख बालकृष्ण चापागाईलाई विद्यार्थीको समूहले विज्ञप्ति टास गर्दै मंगलबार उनकै कक्षमा थुनिदिएका हुन्।
गल्याङ् नगरपालिका- ३ को पहलमा गल्याङ् बहुमुखी क्याम्पसमा निर्मित खानेपानीको धारामाथिको शिलालेखमा अनेरास्ववीयूद्वारा निर्मित भनि लेखिएपछि नेपाल विद्यार्थी संघले सच्चाउन आग्रह गरेका थिए।
क्याम्पस प्रशासन र गल्याङ नगरपालिकामा समेत पटक-पटक जानकारी गराउँदा दुबै पक्षले गलत भनी स्वीकार गर्ने तर शिलालेखमा लेखिएका वाक्यांश सच्चाउन नचाहेका कारण आफूहरुले वाध्य भएर क्याम्पस प्रमुखलाई थुनेको नेपाल विद्यार्थी संघ गल्याङ् क्याम्पस इकाई सभापति छवीलाल भुषालले बताए।
गत माघ २२ गत टासिएको सो शिलालेख २४ औं दिनसम्म सच्चाउन वा हटाउन कुनै पहल नगरेको भन्दै आक्रोशित विद्यार्थीको समूहले प्रमुखलाई थुनेका हुन्।

