
पोखरा, फाल्गुन १५ । रुस्लान थ्री स्टार क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विभागीय टोली नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै थ्री स्टार फाइनल प्रवेश गरेको हो ।
पोखरा रंगशालामा बुधबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि मौसम प्रतिकूलताका कारण खेल सिधै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा थ्री स्टारका लागि रञ्जित धिमालले पहिलो प्रहार गोलमा परिणत गरे । लगत्तै एपीएफको लागि पहिलो पेनाल्टी लिएका गरेका सुदीप सिख्राकरको प्रहार क्रसबारमा लाग्दै बाहिरियो ।
थ्री स्टारका बुद्ध चेम्जोङको प्रहारलाई रोमन रसाइलीले विफल पारेपछि एपीएफका आशिष लामाले गोल गर्दै स्कोर बराबरमा पुर्याए । सुनील बलले थ्री स्टारको तेस्रो प्रहार टप कर्नरमा गोल गर्दा एपीएफका सन्तोष कटुवालले पनि कुनै गल्ति गरेनन् । त्यसपछि थ्री स्टारका रुपेश केसीले सहजै गोल गर्दा एपीएफका विकि लामाले निकै खराब पेनाल्टी प्रदर्शन गरे ।
त्यसपछि अनन्त तामाङले पाँचौ पेनाल्टीमा गोल गर्दै थ्री स्टारको फाइनल यात्रा तय गरे । दोस्रो सेमिफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र दाफिन्स फुटबल क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।
सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

