
पोखरा, फाल्गुन १६ । विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७ औं संस्करणको आहा ! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार पोखरा रंगशालामा भएको दोस्रो एवं अन्तिम सेमिफाइनलमा दाफिन्स फुटबल क्लबलाई १-० ले हराउदै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
खेलको १३ औं मिनेटमा टेकबहादुर बुढाथोकीको गोलबाट अग्रता लिएको आर्मीले दाफिन्सलाई खेलमा फर्किन दिएन । प्रतिस्पर्धात्मक रहेको खेलमा आर्मीले लगातार आक्रमण बुन्दा दाफिन्सले अग्रता दोब्बर पार्ने योजना विफल पारिदियो ।
८५ औं मिनेटमा दाफिन्सका डेम्बा ओवुनाले दोस्रो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटिएको थियो । विकास तामाङलाई ट्याकल गरेपछि रेफ्रिले उनलाई दोस्रो पहेंलो कार्ड देखाएका थिए । आर्मीका दिपक गुरुङ म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
आर्मीले अब प्रतियोगिताको फाइनलमा शनिबार रुस्लान थ्री स्टारको सामना गर्नेछ । थ्री स्टारले बुधबार एपीएफलाई टाइब्रेकरमा टाइब्रेकरमा ४-२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
प्रतियोगिताको विजेताले उपाधि सहित ८ लाख एक हजार र उपविजेताले ४ लाख एक हजार साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई समान १५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ ।
सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँका साथै ट्रफी प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताको प्रिक्वाटरफाइनल खेल विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १०, क्वाटरफाइनल विजेता तथा उपविजेतालाई ३० र २० हजार, सेमिफाइनल विजेता तथा उपविजेता दुवै टिमलाई ५० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।

