
पोखरा, फाल्गुन १८ । रुस्लान थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै पाँचौपटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । निर्धारित समयमा १-१ र त्यसपछि अतिरिक्त समयमा दुवै टोलीले १-१ गोल थप्दै स्कोर २-२ भएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
उपाधिसहित थ्री स्टारले ८ लाख १ हजार रुपैयाँ नगद प्राप्त गर्यो । उपविजेतामा सिमित त्रिभुवन आर्मी क्लबले पनि ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्यो । व्यक्तिगत विधातर्फ थ्री स्टार क्लबका गोलरक्षक एलन न्यौपानेले तीन उपाधि जिते ।
फाइनल खेलका म्यान अफ द म्याच बनेका एलनले १० हजार रुपैयाँ पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बन्दै उनले १५ हजार रुपैयाँ प्राप्त गरे । एलन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि बन्दै अप्रिलियाको स्कुटर पाए ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसी उत्कृष्ट प्रशिक्षक बने । त्रिभुवन आर्मीका डिफेन्डर विमल पाण्डे, मिडफिल्डर सन्तोष तामाङ र फरवार्ड नवयुग श्रेष्ठले व्यक्तिगत विधामा पुरस्कार पाए । व्यक्तिगत उपाधि विजेता सबैले जनही १५ हजार रुपैयाँ प्राप्त गरे ।
एपीएफले फेयर प्ले टोलीको उपाधि प्राप्त गर्यो । सर्वाधिक गोलकर्ताको उपाधि जितेका अनिल गुरुङले २५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा तीन गोल गरे । आयोजक साहारा क्लबले विजेता सबैलाई समापन कार्यक्रममै नगद प्रदान गरेको थियो ।
फाल्गुन ९ गतेबाट सुरु भएको प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) विदेशी टिम डफिन्स फेमिली टिम क्यामरुन, युनाइटेड सिक्किम भारत र आयोजक गरी १० टिम सहभागी रहेका थिए ।
