सङ्घीयता कार्यान्वयनसँगै बागलुङमा जग्गाको कारोबारमा कमी

Share:

बागलुङ, फागुन २० । सङ्घीयता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरीद–बिक्रीको कारोबारमा कमी आएको छ । बितेका वर्षमा भन्दा यो आर्थिक वर्षको पहिलो छ महीनामा जग्गा खरीद–बिक्रीको कारोवार कम भएको पाइएको हो ।

मालपोत कार्यालय बागलुङका अनुसार गत वर्ष फागुनको दोस्रो सातासम्म एक हजार ६२१ जग्गाका कारोवार कार्यालयमा दर्ता भएका थिए । यो वर्ष सोही समयावधिमा ९४७ मात्रै कारोवार भएको कार्यालयले जनाएको छ ।

बागलुङमा बजार विस्तार भइरहेका सुगम ठाउँमा जग्गा खरीद गर्ने र दुर्गम गाउँका पाखा बिक्री हुने गरेका थिए। पहाडी जिल्ला भएकाले बागलुङ समथर जमीनको खोजीमा मधेशतिर बसाइँ सर्नेको क्रम बढेकाले पनि जग्गाको कारोवारमा कमी आएको हो ।

“सङ्घीयता कार्यान्वयनसँगै गाउँ–गाउँमा पुगेका सेवासुविधाका कारण सुगम भनिएका ठाउँको जग्गाको माग कम भएकाले कारोवार घटेको हुनसक्छ”, मालपोत अधिकृत विष्णुप्रसाद शर्माले भने, “पछिल्लो समय कार्यालयमा आउने सेवाग्राही अरूको भन्दा जग्गा कारोवार नै कम हुने गरेका छन् ।”

“यस वर्ष मात्रै झण्डै २५ घरपरिवार हाम्रो वडाबाट बसाइँ सरेर गए,” बागलुङ नगरपालिका–११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, “यहाँको जग्गा बिक्री भएको छैन, मधेशको जग्गा खरीद–बिक्रीको हामीकहाँ जानकारी हुने कुरा भएन, त्यसैले जग्गाको कारोवार कम देखिएको हो ।”

वैदेशिक रोजगारीमा जाने युवाले मधेशको जग्गामा लगानी बढी गरेका कारण जिल्लामा जग्गाको कारोवारमा कमी आएको गौतमको भनाइ थियो । मधेशमा घेडेरी किनेर घर बनाउनेले पहाडको जग्गा बिक्री गर्न नचाहने र आफ्नो जन्मथलोको जग्गा जोगाई राख्ने गरेका कारण पनि कारोवारमा कमी आएको हुनसक्ने गौतमले औंल्याए ।

बसाइँसराइ गरेर जानेहरुले वडास्तरबाट सिफारिस पाउने भएकाले जिल्लामा के कति बसाइँ सरेर गए वा अन्य ठाउँका जग्गामा लगानी भइरहेको छ भन्ने विषयमा तथ्याङ्क पाउन कठिन छ ।

नेपाल सरकारले एउटै जग्गाको कित्ताका वर्षमा एक पटकभन्दा धेरै गर्न नपाउने व्यवस्था गरेका कारणले पनि जग्गाको कारोवारमा कमी आएको मालपोत कार्यालयले जनाएको छ ।

मालपोत कार्यालयमा जग्गाको कारोवारमा कमी आएसँगै कामको चापसमेत कम भएको कार्यालयले जनाएको छ । जग्गाको कारोवारका काम कम आउन थालेको मालपोत कार्यालयमा धितो तथा रोक्काका काम भने बढ्दै गएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: