कलवार समुदायले पोखरामा धुमधामका साथ गरे बलभद्र/अर्जुन पूजा

Share:

रञ्जन अधिकारी पोखरा, २१ भदौ / मधेशका कलवार समुदायले पोखरामा शनिबार धुमधामका साथ बलभद्र तथा अर्जुन पूजा गरेका छन् । एकै स्थानमा भेला भई सामूहिक पूजा गरेका उनीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्दै प्रसाद ग्रहण गरे । पूजा आयोजक कलवार कल्याणकारी सेवा समाजले आफ्नो चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन पनि सम्पन्न ग¥यो ।

अधिवेशनले दिनेशप्रसाद चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । २१ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार चौधरी, उपाध्यक्षद्वयमा भागवत प्रसाद जैसवाल र भोलाप्रसाद गुप्ता, महासचिवमा अशोककुमार चौधरी, सचिवमा पन्नालाल शाह, कोषाध्यक्षमा गम्भिरप्रसाद जैसवाल र सहकोषाध्यक्षमा गोरखनाथ प्रसाद चयन भएका छन् । साधारणसभामा महासचिव भागनारायणप्रसाद कलवारले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष भागवतप्रसाद जैसवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नवलपरासी क्षेत्र नं. ६ बाट नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचित सभासद् देवकरणप्रसाद कलवारले संघीयताका सवालमा अहिले दलहरु विभाजित भएपनि सबैको सहमतिमा समयमै संविधान जारी हुने दाबी गरे । ‘संविधानमा हामी अल्पसंख्यक दलित वर्गको हक अधिकार सुनिश्चित गर्न लागिपरेको छु ।’ उनले भने– ‘यसरी नै जहाँ रहेपनि सबै एकताबद्ध भएर अघि बढ्न जरुरी छ ।’ उनले तराईमा दाईजो प्रथा कुप्रथाका रुपमा रहेकाले दहेज प्रथा र छुवाछुतलाई अन्त्य गर्न शिक्षाको आवश्यकतामा जोड दिए । हिमाल, पहाड, तराई जहाँ रहेपनि सबै नेपाली भएको भन्दै उनले नागरिकता समस्या समाधान हुने बताए ।

समाजका अध्यक्ष रामअधार जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल जैसवाल सेवा समितिका भगवतीप्रसाद जैसवाल, भैरहवा समितिका अर्जुन जैसवाल लगायतले बोलेका थिए । वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद चौधरीले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन महासचिव भागनारायणप्रसाद कलवार र सचिव अशोककुमार चौधरीले गरेका थिए ।

सो अवसरमा निजामति क्षेत्र तथा समाजका विभिन्न क्षेत्रमा उपल्लो तहमा पुग्न सफल लालबाबु प्रसाद जैसवाल, वीरबहादुर जैसवाल, अशोककुमार चौधरी, रामपरीक्षण चौधरी, वीरबहादुर जैसवाल र सुरेश जैसवाललाई सम्मान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: