बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि बागलुङमा कालिज संरक्षण गरिँदै

Share:

बागलुङ । बढ्दो शिकारले सङ्कटमा पर्ने देखिएपछि कालिज संरक्षण प्रयास अघि बढाइएको छ । बागलुङ् नगरपालिका–१ स्थित कालिका भगवती मन्दिर व्यवस्थापन समिति कालिज संरक्षणमा लागेको हो ।

वासस्थानको सुरक्षा र चोरी शिकार नियन्त्रणमा योजनाबद्ध काम शुरु गरिएको छ । मन्दिर वरिपरि रहेको १९० रोपनी वन क्षेत्रमा कालिजलगायतका पक्षीको वासस्थान छ । प्राकृतिक वासस्थानमै कालिज संरक्षण गरिएको मन्दिरका अध्यक्ष राजु खड्काले बताए ।

उनका अनुसार हिजोआज कालिज मन्दिरका परेवासँगै चारो टिपिरहेका हुन्छन् । संरक्षण र हेरचाहले कालिजको आनीबानी फेरिएको उनको बुझाइ छ । “मन्दिर प्राङ्गणमै परेवाको बथानमा मिसिएर चर्छन्”, अध्यक्ष खड्काले भने, “हेर्दा पनि अनौठो र रमाइलो लाग्छ ।”

मन्दिर परिसरको जङ्गलमा दुर्लभ देखिने कालिज अहिले दैनिकजसो भेटिन थालेका छन् । जङ्गलभित्र आवतजावत रोक्ने गरी तारबार गरेपछि कालिज संरक्षणमा ठूलो टेवा पुगेको छ ।

“मन्दिरमा खटिने प्रहरी, कर्मचारीलाई पनि विशेष रुपमा सचेत बनाएका छौँ”, उनले भने, “जङ्गलको बीच–बीचमा कालिजलाई चारो पनि राख्ने गरेका छौैँ ।” ‘वन कुखुरा’ भनेरसमेत चिनिने कालिज बढी अवैध शिकार हुने जङ्गली चरा हो ।

मन्दिरमा अहिले चार वटा समूहमा कालिज रहेको अनुमान गरिएको छ । एउटा समूहमा सात–आठ वटासम्म कालिज देखिएको अध्यक्ष खड्काले बताए । विशेष गरी मन्दिरको दक्षिणी क्षेत्रको जङ्गलमा कालिजको बढी बसोबास छ ।

यही हिसाबले संरक्षण योजना सफल भए कालिजको सङ्ख्या बढ्दै जाने बताइएको छ । पछिल्लो समय अवैध चोरी शिकारका कारण कालिज सङ्कटमा छ । मानव बस्तीदेखि नजिकैका जङ्गलमा पाइने भएको हुँदा कालिजको बढी शिकार हुन्छ । कालिजको मासु स्वस्थ र स्वादिलो मानिन्छ ।

लोपोन्मुख अवस्थामा नभए पनि कालिज शिकार गर्नु गैरकानूनी हुने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत मदन सुवेदीले बताए।शिकारको उजुरी आए कार्यालयले कारवाही प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

अनुमति लिएर र दस्तुर तिरेर केही निश्चित संरक्षित क्षेत्र र शिकार आरक्षमा मात्र कालिजको शिकार गर्न पाइने व्यवस्था छ । पछिल्लो समय नेपालमा कालिजको विकसित जातलाई व्यावसायिक रुपमा पनि पाल्न थालिएको छ । होटल, रेष्टुराँमा कालिजको मासु महँगो मूल्यमा बिक्री हुन्छ ।

मन्दिरमा वन्यजन्तु संरक्षण उद्यान निर्माणको लागि तारबार गर्ने, अग्निरेखा बनाउनेलगायतका काम अघि बढाइएको छ । वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याइएको हो । मन्दिर क्षेत्रमा नभएका वन्यजन्तु र पक्षी बाहिरबाट ल्याएर राखिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: