
तनहुँ । एक सातादेखि वेपत्ता एक प्रहरी जवान मादी नदीमा मृत अवस्थामा भेटिएका छन्। तनहुँको व्यास नगरपालिका–७ कलेस्तीस्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २० वर्षीय प्रहरी जवान ठगेन्द्र घर्ती मगरको खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन ।
मगरको कुरिनटारबाट आएको शसस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गोथाखोर टोलीले खोजी गर्ने क्रममा चौकी नजिकै रहेको नदीको रहमा शव भेटेको हो । उनको शव ढुंगाको खोचमा मंगलबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
‘पोखराबाट दुई वटा तालिम प्राप्त कुकुर ल्याएर प्रहरीको टोलीले सम्भावित क्षेत्रहरुमा खोजी गर्दा पनि पत्ता लगाउन सकेको थिएन,’ उनले भने ‘कुरिनटारबाट आएका सशस्त्र प्रहरीको उद्धार टोलीले नदीको खोँचमा शव भेटाएको हो।’
फागुन १५ गते राति १० वजे ड्युटी सकेर चौकीका घरधनी शैलेन्द्र घिमिरेसँग निस्केका प्रहरी जवान मगर एक्कासी वेपत्ता भएका थिए। घिमिरे घर फर्केर आए पनि प्रहरी जवान मगर वेपत्ता भएका थिए।
घटना शङ्कास्पद भएकाले घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
