विन्ध्यवासिनीमा बृद्धबृद्धा र अपांगका लागि विद्युतीय लिफ्ट, राष्ट्रपतिले गरिन् उद्घाटन

Share:

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरको लिफ्ट उद्घाटन गरेकी छिन् । बिहीबार मध्यान्ह पोखरामा रहेको सो मन्दिरको लिफ्ट उद्घाटन गरिएको मन्दिरका पिठाधिस स्वामी निशेषानन्दले जानकारी दिए ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं हुन्डाई मोटर्सका नेपाल डिस्टीब्युटर समेत रहेका गणेशबहादुर श्रेष्ठको पहलमा १ करोडको लागतमा सो लिफ्ट बनाइएको हो । अपाङ्ग, अशक्तहरुलाई लक्षित गरि लिफ्ट बनाइएको बताईएको छ । लिफ्टमा एक पटकमा १२ जनासम्म चढ्न मिल्ने र भारवहन क्षमता ६ सय ४० किलोग्राम रहेको जनाइएको छ ।

उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताईन । उनले सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण र पुण्य आर्जन पनि हुनेमा जोड दिएकी छन् ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मबाट अनुशासन हुने र अनुशासन विधि भएको चर्चा गर्दै विधिबाट शासन हुनुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिनु महत्वपूर्ण कार्य भएको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको चर्चा गर्दै त्रिवेणीदेखि देवघाट हुँदै मुक्तिनाथसम्मका धार्मिक सांस्कृतिक एवम् पर्यटकीयस्थललाई समृद्धिसँग जोड्नुपर्ने बताए । प्रदेशमा धार्मिक, सांस्कृतिक भावनाका साथै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग जोड्नु आवश्यक रहेको उनको भनाई थियो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विश्वका १० महत्वपूर्ण प्राकृतिक शहरमध्येको पोखरालाई पर्यटकीय महानगरपालिका बनाउन माग गरिएको बताउँदै राष्ट्रपतिमार्फत सङ्घ सरकारको ध्यानाकर्षण गराए । मन्दिरको व्यवस्थापनका साथै स्रोत पहिचान र परिचालनमा बिन्ध्यवासिनी क्षेत्र विकास समितिले चालेको कदमको उनले प्रशंसा गरे ।

लिफ्ट उद्घाटनका लागि पोखरा आएकी राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाअर्चना पनि गरेकी थिइन् । विन्ध्यवासिनी मन्दिरमा पूजाआजा गर्न थालिएको पनि दुई सय ४० बर्ष पुगेको छ । सिद्धिनरसिंह मल्लका पालादेखि नै मन्दिरमा पूजाआजा गर्न थालिएको स्थानीय बुढापाकाको भनाई छ ।

पछिल्लो समय भारत, नेपाल तथा अन्य देशका वृद्धवृद्धा, अशक्त र अपाङ्गले मन्दिरमा पूजाआजा र दर्शन गर्न चाहना राख्ने गर्छन । तर, मन्दिरमा पुग्न शारिरिक रुपमा नसक्ने अवस्था रहेका गुनासा थिए । तिनै गुनासालाई सम्वोधन गर्ने सोचका साथ विद्युतीय लिफ्ट निर्माण गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: