
काठमाडौं । इथियोपिया विमान दुर्घटनामा गोर्खाकी एकता अधिकारीको समेत मृत्यु भएको पुष्टि भएको छ । यसअघि एक नेपालीको मृत्यु भएको भनिए पनि पुष्टि हुन सकेको थिएन । अधिकारी संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)मा कार्यरत थिइन् ।
नेपालस्थित डब्ल्यूएफपी कार्यालयले ट्वीटरमार्फत अधिकारीको निधन भएको पुष्टि गरेको छ ।यूकेबाट एमबीए अध्ययन गरेकी एकता गत डिसेम्बर महिनादेखि इथियोपियास्थित डब्ल्यूएफपीमा सप्लाई चेन अफिसरका रूपमा कार्यरत थिइन् ।
त्यसअघि गत वर्ष सेप्टेम्बर महिनासम्म उनी नेपालमै कार्यरत थिइन् । गत वर्ष पपुआ न्यूगिनीमा भूकम्प गएपछि उनलाई त्यहाँ पठाइयो । पपुआ न्यूगिनीना दुई महिनासम्म काम गरेपछि गत सेप्टेम्बरदेखि उनी इथियोपियामा थिइन् ।
इथियोपियाको राजधानी आदिस अबाबाबाट नैरोबीका लागि उडेको विमान दुर्घटनामा चालक दलका आठ सदस्यसहित १४९ यात्रुको मृत्यु भएको छ । यो दुर्घटनामा संयुक्त राष्ट्रसंघका मात्रै १९ सदस्यको मृत्यु भएको छ । तिमध्ये डब्ल्यूएफपीका सात जना कर्मचारी थिए ।
गोरखाको छोप्राक स्थायी घर भएकी अधिकारीका बुबाआमा अमेरिकामा छन् । दाजु भाइ काठमाडौंमा छन् । उनले विद्यालय शिक्षा पनि काठमाडौंमै लिएकी हुन् ।
एकताले काठमाडौंस्थित सेण्ट मेरिज स्कूलबाट माध्यमिक तह उत्तीर्ण गरेकी हुन् । एकता बेलायतबाट एमएससी सकेर चार वर्ष अघि नेपाल फर्केकी थिइन् ।
