मुस्ताङ र तनहुँका दुई वडाबीच भगिनी सम्बन्ध

Share:

दमौली । हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–४ र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बीच भगिनी सम्बन्ध कायम भएको छ । आपसी सम्बन्ध विस्तार, अनुभव आदानप्रदान, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय गतिविधि सञ्चालनका लागि दुई वडाबीच भगिनी सम्बन्ध कायम भएको हो ।

भगिनी सम्बन्ध कायम गर्ने सम्झौतापत्रमा आज घरपझोङ गाउँपालिका–४ का वडाध्यक्ष यामप्रसाद थकाली र शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले हस्ताक्षर गरे । दुई वडाबीच नियमित सम्पर्क राखी अवलोकन तथा अन्तक्र्रिया कार्यक्रम गर्ने, एकअर्काको भौतिक तथा संस्थागत विकासका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

वडाध्यक्ष थकालीले पहिलोपटक दुई वडाबीच भगिनी सम्बन्ध कायम गर्न पाएकामा खुशी व्यक्त गर्दै सम्झौतापत्रमा उल्लेख भएका बुँदा कागजमा मात्र सीमित नराखी व्यवहारमा उतार्नुपर्ने बताए ।

गत असोजको अन्तिम साता शुक्लागण्डकी नगरपालिका–८ र १० ले आयोजना गरेको टोल विकास संस्थाका प्रतिनिधिसहितको मुस्ताङ अवलोकन भ्रमणका अवसरमा वडाले भगिनी सम्बन्धको प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई कार्यपालिकाको बैठकले भगिनी सम्बन्ध कायम गर्ने निर्णय गरेको थियो ।

घरपझोङको टोलीले यस क्षेत्रकै प्रसिद्ध ढोरबाराही मन्दिर, मुक्तिनाथ च्यवनधामको अवलोकन गरेको थियो । साविकको मार्फा, टुकुचेको दुई वटा वडा र जोमसोम गाविसलाई समेटर सो गाउँपालिका निर्माण गरिएको छ । प्रसिद्ध मुक्तिनाथ मन्दिर सोही गाउँपालिकामा अवस्थित छ ।

कमेन्ट गर्नुहोस्
Share: