यू-१६ च्याम्पियन्ससिपमा नेपालद्वारा कुवेत पराजित, नकआउट चरण प्रवेशको सम्भावना बलियो

Share:

काठमाडौं २४ भदौ / एएफसी यू–१६ च्याम्पियन्ससिप फुटबलमा नेपालले कुवेतलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले कुवेतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै नेपालको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।

उत्तर कोरियालार्इ ३–२ ले पराजित गरेको उज्वेकिस्तान ४ अंकसहित शीर्ष स्थानमा छ भने समान अंक जोडेको नेपाल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । पहिलो खेलमा साविकको विजेता उज्वेकिस्तानसँग १–१ गोलको बराबरी खेलेको नेपाल उत्तर कोरियासँग विहिबार समूह चरणको अन्तिम खेल खेल्नेछ । उत्तर कोरियासँग कम्तिमा बराबरी खेले नेपाल नकआउट चरण प्रवेश गर्नेछ ।

थाइल्याण्डको मुनाङथोङ रंगशालामा भएको खेलमा नेपालले उपहार गोलबाट अग्रता लिएको थियो । दोस्रो मिनेटमा किरन सुनारको पासमा अन्जन विष्टको प्रहार कुवेती खेलाडीबाट आत्मघाती गोल भएको थियो । १४ औं मिनेटमा नेपालका अनन्त तामाङले गोललाईनबाटै बल क्लियर गरे । १८ औं मिनेटमा विमल घर्तीमगरको प्रहारले सही दिशा लिन सकेन भने पहिलो हाफको अन्तिममा कुवेतका खेलाडीको प्रहार केही बाहिर रहृयो । दोस्रो हाफको सुरुमा नेपालले गोल गर्ने राम्रो मौका गुमायो । अमित तामाङको पासमा अन्जन विष्टको प्रहार बारको केही माथिबाट बाहिरियो । ५४ औं मिनेटमा सुनिल बलको कर्नरमा किरन सुनारको हेडर केही बाहिर रहृयो ।

७५ औं मिनेटमा कुवेतले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । आकाश थापाले डि बक्स एरियामा फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर, खेलको ७९ औं मिनेटमा नेपालले पेनाल्टी पायो । अन्जन विष्टलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए, जसमा कप्तान विमल घर्तीमगरले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । छनोट चरणमा व्यहोरेको दुई पहेँलो कार्डका कारण उज्वेकिस्तानविरुद्धको खेल गुमाएका विमल कुवेतविरुद्ध खेलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: