
पाल्पा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।
प्रेस युनियन पाल्पाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति देउवाले चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउने वातावरण तयार पार्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
उनले हत्या हिंसाबाट मुलुकमा परिवर्तन गर्न सम्भव नहुने भन्दै शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका हुन् । सभापति देउवाले वर्तमान सरकार निरंकुशताको बाटोतर्फ अग्रसर हुँदै गएको बताए ।
सञ्चार क्षेत्रमाथि नियन्त्रण गर्न र अंकुश लगाउन खोजिए त्यो कांग्रेसका लागि स्वीकार्य नहुने उनको भनाइ थियो । नेपाली कांग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको भन्दै उनले प्रतिपक्षका रुपमा रहेको कांग्रेसले प्रजातान्त्रिक ढंगबाटै सरकारको आलोचना गर्ने बताए ।
आफ्नो पार्टी रेलिङ भाँचेर जनतालाई सास्ती दिने पक्षमा नरहेको उनको भनाइ थियो ।
