असोज ३ देखि देशव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी

Share:

पोखरा, २५ भदौ। शैक्षिक संस्थाहरुमा गरिएको शुल्क बृद्विको विरोध तथा विभिन्न माग सहित नेकपा – माओवादी निकटको अखिल क्रान्तिकारीले शुरु गरेको आन्दोलन जारी रहेको छ। अखिल क्रान्तिकारीले पोखरामा बुधबार पत्रकार सम्मेलन गरी आन्दोलन जारी रहेको बताएका हो।

आन्दोलनका कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारीले शैक्षिक संस्थाहरुमा चेतावनी पत्र बुझाउने र देशभरका जिल्ला शिक्षा कार्यालय र डिन कार्यालयमा धर्ना दिइसकेको छ।

भदौ २६ गते शुल्क समायोजनको सहमति पत्र सहित अभिभावकहरुलाई पत्राचार गर्ने, भदौ २९ गते सवै विश्वविद्यालय कमिटि र राज्य कमिटिहरुले सरोकारवालासँग अन्तरक्रिया गर्ने, भदौ ३१, असोज १ र २ गते शिक्षण संस्थाहरुको लेखा शाखा र प्रशासनमा तालबन्दि गर्ने अखिल क्रान्तिकारीका सचिव दिपेन्द्र चलाउनेले जानकारी दिए।

त्यसोगर्दा पनि बृद्वि गरिएको शुल्क नघटाए असोज ३ देखि ५ गतेसम्म देशव्यापी शैक्षिक हड्ताल गर्ने चेतावनी दिएको छ। शैक्षिक हडतालगर्दा पनि नभए दशै तिहारपछि संघर्षलाई चर्काएर निष्कर्षमा पुग्ने अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाईलीले बताए।

उनले अन्य विद्यार्थी सङ्गठनहरु पनि शुल्क बृद्विको विरुद्व सङ्घर्ष गर्न तयार भए आन्दोलनलाई संयुत्त रुपमा अघि बढाउन सकिने बताए। अखिल क्रान्तिकारीले २०७१ जेठ ७ मा भएको शुल्क समायोजनको सहमति कार्यन्वयन गर्न, उच्च मावि अध्ययनको लागि छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुबाट लिइएको शुल्क विना सर्त फिर्ता गरी छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउन, सिटिईभिटी अन्तर्गत नर्सिङ लगायत सवै कार्यक्रमहरुमा भएको चर्काे शुल्क बृद्वि फिर्ता गरी शुल्कको बैज्ञानिक मापदण्ड तोक्न माग गरेको छ।

त्यसैगरी, पोखरा, पुर्वाञ्चल, त्रिभुवन विश्वविद्यालय अन्तर्गतका इन्जिनियरिड्ड लगायतका कलेजहरुले गरेको शुल्क बृद्वि खारेज गर्न, त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयको एम.वि.वि.एस तहमा तोकिएको न्यूनतम शुल्क कार्यन्वयनगर्दै शुल्कमा एकरुपता कायम गर्न पनि माग गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाईलीले विद्यार्थी सङ्गठनहरु सरकारको प्रतिपक्षि हुनुपर्नेमा सत्ताको अंशियार बन्दै गएको र आफुलाई सिंहदरबार सिमित राख्न थालेको बताए। राजतन्त्रको अन्त्य पछि विद्यार्थी सङ्गठनहरुले आफ्नो भुमिका नै नभएको महसुस गर्न थालेको उनको भनाई थियो।विद्यार्थी सङ्गठन हतियार विनाको सेना हो उनले भने – तर पनि विद्यार्थी सङ्गठनहरुले राष्ट्रियता, जनजिविका, मुल्य बृद्वि जस्ता विषयमा आफुलाई केन्द्रीत गर्न सकेका छैनन्।

उनले पार्टीभित्रको गुट÷उपगुट र झगडाको प्रभाव विद्यार्थी सङ्गठनहरुमा परेको उल्लेख गरे। अध्यक्ष रसाईलीले विद्यार्थी सङ्गठनहरुले राजनीतिलाई पैसा कमाउँने धन्दाको रुपमा लिएकोमा चिन्ता व्यत्त गरे। उनले विद्यार्थी सङ्गठनका नेताहरुले विदेश गएर पैसा कमाउने की देशभित्रै बसेर राजनीति गर्ने भनेर सोच्न थालेको बताए। कार्यक्रममा अखिल क्रान्तिकारीका सचिव दिपेन्द्र चलाउने र सिटिईभिटी तमुवान संयोजक मणि न्यौपानले पनि बोलेका थिए।

कमेन्ट गर्नुहोस्
Share: