तनहुँको अर्चलेडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण

Share:

दमौली । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । उक्त ठाउँमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ सञ्चालन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाको सक्रियतामा प्याराग्लाइडिङको उडान गरिएको हो ।

पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शङ्कर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङको सफल परीक्षण गरेका हुन् ।

उक्त ठाउँबाट विगतमा पनि एकल प्याराग्लाइडिङको उडान गरिएको भए पनि पहिलोपटक डबल उडानको परीक्षण गरिएको व्यास नगरपालिका–३ का वडा सदस्य रविन पौडेलले जानकारी दिए।

प्याराग्लाइडर आचार्य र पराजुलीले व्यास–११ का वडाध्यक्ष निरबहादुर खड्का र स्थानीय विष्णु मास्कीसँग पहिलो उडान भरेका थिए । अर्चलेडाँडाबाट उडान गरिएको प्याराग्लाइडिङको सोही वडाको फराकचौरमा अवतरण गरिएको थियो ।

खड्काका अनुसार उक्त ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङको सम्भावना अध्ययनका लागि परीक्षण गरिएको हो ।

व्यावसायिक रूपमा प्याराग्लाइडिङका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा समेत जोड दिने उनले बताए। पोखरास्थित टिम फाइभ प्याराग्लाइडिङ कम्पनीका आचार्यले उक्त ठाउँ प्याराग्लाइडिङका लागि उपयुक्त रहेको बताए।

पोखरा र बन्दीपुरमा विगत सात वर्षदेखि प्याराग्लाइडिङ उडान गर्दै आएका उनले यस ठाउँमा व्यावसायिक रूपमा नै प्याराग्लाइडिङ गर्न सकिने सम्भावना रहेको जानकारी दिए ।

तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवा पाँच किलोमिटर र त्यहाँबाट तीन÷चार किमीको दूरीमा सो ठाउँ रहेको छ ।

उक्त ठाउँका केही घरमा घरबाससमेत सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए सो ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासीले बताएका छन् ।

तस्वीर: कृष्ण न्यौपाने (रासस)

कमेन्ट गर्नुहोस्
Share: