
रेम बिक
पोखरा, ११ चैत । पोखरा दिवा बजार हो । पटकपटक यसलाई २४ सै घण्टा खुल्ने बजार बनाउने चर्चा चलेपनि त्यसले मूर्त रुप पाउन सकेको छैन ।
पोखरा लगभग ९ बजे सुतिसक्छ । महेन्द्रपुल, चिप्लेढुंगा, न्यूरोड, पृथ्वीचोकजस्ता पोखराका मूख्य बजार ७ बजे नै करिब सुनसान देखिन्छन् । उता लेकसाइड भने राती ११ बजेसम्म खुल्छ । त्यसपछि भने प्रशासन आफैले लेकसाइडलाई बन्द गराउँछ ।
यतिसम्म कि बागलुङको बुर्तिबाङ जाने रात्री बस पृथ्वीचोकमा राती करिब २ बजे आईपुग्छ । तर पोखरामा बसबाट ओर्लेर पानीसम्म किनेर खान्छु भन्न पाईने स्थिती छैन । यहाँको प्रशासनले नै पोखरालाई रात्रीकालिन बजारको रुपमा स्थापित हुन नदिईरहेको स्थिती छ ।
पोखरामा अहिलेको चर्चित :
पोखरामा अहिले होर्डिङ बोर्ड हटाउने कुराले चर्चा पाईरहेको छ । पोखरा महानगरपालिकाले हाल नगरभित्र रहेका होर्डिङबोर्ड हटाउने अभियान शुरु गरिसकेको छ । र, यही कुरालाई यहाँका केही व्यवसायीहरुले विरोध पनि जनाईरहेका छन् ।
महानगरले भने पोखरामा डिजिटल बोर्ड हाल्ने विकल्प अगाडि सारेर होर्डिङ बोर्ड हटाईरहेको छ ।
कनेक्सन :
त्यसो त रात्री बजार, डिजिटल बोर्ड र होर्डिङ बोर्डको ‘कनेक्सन’ के हुन सक्छ ?
यो आपसमा ‘कनेक्टेड’ विषय हो । विज्ञहरुको भनाईलाई आधार मान्ने हो भने पोखराको बजारलाई डिजिटल बोर्ड भन्दा स्टिल होर्डिङ बोर्ड नै उत्तम हुन्छ । ‘पोखरामा रात्रीकालिन समयमा न बजार चल्छ, न त मानिसहरु हिँडडुल नै गर्छन् । बजार चलायमान हुने समय उज्यालो हुँदासम्म मात्रै हो । र, डिजिटल बोर्डको प्रभाव दिउँसोको समयमा रहँदै रहन्न भनेपनि हुन्छ ।’ किष्ट मिडिया प्रालि ललितपुरका संचालक रोहित मैनाली भन्छन्–‘यस्तो अवस्थामा पोखराको बजारमा डिजिटल बोर्ड राखेर विज्ञापनदातालाई के फाइदा हुन्छ ?’ अहिलेको अवस्थामा पोखराको बजारमा डिजिटल मार्केटिङ भन्दा स्टिल होर्डिङबोर्ड मार्केटिङ नै ठिक हुने उनले बताए ।
त्यसो त पोखरामा डिजिटल बोर्ड कस्तो खालको र प्रकृतिको राख्ने भन्ने कुरा महानगरले निक्र्यौल गर्न सक्नुपर्ने उनी सुझाउँछन् । ‘डिजिटल बोर्डमा गरिने विज्ञापनको शुल्क अत्याधिक महँगो हुन्छ । र, दिउँसोको घाममा त्यस्ता बोर्डमा देखिने विज्ञापनको भिजिबिलिटी पनि निकै कम हुन्छ ।’ मैनालीले भने–‘यस्तोमा सबै व्यापारीले विज्ञापन दिन पनि सक्दैनन् । र, यो त्यति प्रभावकारी पनि छैन ।’
रातीको बजार चल्ने भएको भए पोखरामा डिजिटल बोर्ड राम्रो हुने अर्का विज्ञापन व्यवसायी बालिस्ट शुक्ला भन्छन् । ‘फेरि यो पनि त होईन, डिजिटल बोर्ड राख्ने नाममा शहरभरि भएका सबै होर्डिङ बोर्ड हटाउन त भएन नी ।’ उनले भने–‘यो सरासर नियतवश कुनै स्वार्थ समूहलाई उँभो लगाउने खेल मात्रै हो ।’
के भन्छ महानगर ?
महानगर भने यतिबेला पोखरालाई होर्डिङबोर्ड मुक्त शहर बनाउने अभियानमा छ । उसको भनाईलाई मान्ने हो भने अब उप्रान्त पोखरामा होर्डिङबोर्ड विज्ञापन ईतिहास हुनेवाला छ ।
उसले २०७४ माघ ४ गते बसेको कार्यपालिका बैठकको निर्णयलाई कार्यान्वयन गर्ने क्रममा होर्डिङ बोर्ड हटाउने अभियानलाई तीव्रता दिएको हो । ‘अब पोखरामा होर्डिङ बोर्ड एउटा पनि रहनेछैनन् । बरु डिजिटल बोर्ड हुनेछन् । र, त्यसका लागि टेन्डर आह्वान भैसकेको छ ।’ महानगरपालिका कार्यालयका कर अधिकृत छवि शर्माले भने–‘होर्डिङ बोर्ड निर्मुल पार्ने अभियान शुरु भैसकेको छ ।’
त्यसो त नेपालकै काठमाण्डौ लगाएत अन्य शहर अनि विदेशका ठुला शहरहरुमा पनि होर्डिङबोर्ड पुरै विस्थापित भएका छैनन् । विज्ञापनदाताको रोजाई अनुसार डिजिटल या स्टिल होर्डिङबोर्डमा विज्ञापन प्रकाशन/प्रशारण भैरहेका छन् । तर महानगरपालिकाले कुनै प्राविधिक अध्ययन बिनानै पोखराको होर्डिङबोर्ड फाल्ने निर्णय गरेको प्रष्ट हुन्छ ।
विरोध :
‘यो त सरासर व्यवसायीलाई मार्ने काम हो । हो, व्यवस्थित हुनुपर्छ । तर गरेर खानेलाई यसरी एकैचोटी मर्का पर्ने गरि काम किन भैरहेको छ ?’ महानगरको निर्णयको विरोध गर्दै परिचय एड्रटाइजिङका संचालक सोभित बस्याल भन्छन्–‘निर्णय नियतवश आएको देखिन्छ । र, केही स्वार्थ समूह पनि यो निर्णय गराउनमा जोडिएका छन् ।’
उनले आफू खुला र प्रतिस्पर्धात्मक बजार नीति मान्न तयार भएको बताउँदै घाँटी निमोठेर प्रतिस्पर्धा गर्न बोलाउँदा व्यवसायीहरु मर्कामा परेको बताए ।
उनले संसारमा कहीँ नभएको नियम पोखरामा ल्याएर महानगरले तमाशा देखाएको बताए । केही दिन अगाडि उनले प्रेस विज्ञप्ती नै जारी गरेर महानगरको यो कदमलाई विरोध जनाएका थिए ।
तस्वीर : सुदर्शन रंजितको फेसबुकबाट

