एजेण्डाविहीन विप्लव आन्दोलनको कुनै अर्थ छैन: मुख्यमन्त्री गुरुङ

Share:

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लव माओवादीको एजेण्डाविहीन आन्दोलनको कुनै अर्थ नरहेको बताएका छन् ।मंगलबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विप्लव समूहलाई वार्तामा आउन आह्वान गरे ।

मुख्यमन्त्री गुरुङले अब पहिलेका जस्तो क्रान्ति सम्भव नभएको उल्लेख गर्दै सरकारसँग वार्तामा आएर शान्तिपूर्ण बाटो रोज्न विप्लव समूहलाई आग्रह गरे ।

“अब मुलुकमा हिंसात्मक गतिविधि गर्ने जोसुकै समूहलाई पनि नागरिकले स्वतः प्रतिकार गर्छ”, उनले भने, “स्थायी सरकारले मुलुकलाई स्थायित्व दिन लागेका बेला बम पड्काउने गतिविधि रोकेर शान्तिपूर्ण राजनीतिक धारमा आउन म विप्लव समूहलाई आग्रह गर्न चाहन्छु ।”

मुख्यमन्त्री गुरुङले सिके राउतलाई मूल धारमा ल्याउने विषयमा पार्टीभित्रैबाट असन्तुष्टि देखिएको उल्लेख गर्दै शुरुमै आलोचना गर्नुभन्दा पनि त्यसले पार्ने दूरगामी असरलाई पर्खिनुपर्ने बताए ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले यो एक वर्षमा विकास निर्माणका आधार तयार गरेको बताउँदै अब प्रदेशको आर्थिक समृद्धिका लागि धमाधम काम गरिने प्रतिवद्धता व्यक्त गरे।

चौतर्फी समस्याका कारण एक वर्षमा नागरिकले अपेक्षा गरेअनुसारको काम गर्न नसकेको स्वीकार गर्दैै उनले अब द्रुत विकासको मोडेलमा अघि बढ्ने विश्वास दिलाएका थिए ।

नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले चैत महीनाभित्रै पार्टीका सबै तहको एकता टुङ्गिने बताउँदै पार्टी अध्यक्ष प्रचण्ड स्वदेश फर्किएपछि पार्टी एकता तत्कालै टुङ्गिने धारणा व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: