
पोखरा । नेपाली काङ्ग्रेस जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा बिहीबारदेखि सुरु हुने भएको छ ।
काङ्ग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराए ।
सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने र सो सम्मेलनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने उनले बताए ।
उनले सो सम्मेलनमा जिल्ला–जिल्लामा पार्टीको स्रोतलाई सुदृढ, पारदर्शी र जवाफदेही बनाउन सबै कोषाध्यक्षलाई प्रशिक्षण दिनु नै मुख्य उद्देश्य रहेको जानकारी दिए । सम्मेलन शुत्ररबारसम्म चल्ने छ ।
उक्त दुईदिने राष्ट्रिय सम्मेलनमा पार्टीको गुटउपगुटको अन्त्यका साथै पार्टीलाई एक ढिक्का गरी अघि बढ्नका लागि दबाबमूलक सुझाव दिने र पार्टीको सङ्गठनलाई बलियो बनाउन प्रत्येक जिल्लामा क्रियाशील सदस्यलाई प्रशिक्षण दिनका लागि अनुरोध गरिने छ ।
गत मङ्सिर २९ गतेदेखि पुस ८ गतेसम्म काठमाडौँमा भएको महासमितिको बैठकका बहुमत सदस्यहरुले उठाएका विषय कार्यान्वयन गराउनका लागि सो बैठकमा वृहत छलफल गरी आवश्यक सुझावसमेत दिइने बताइएको छ ।
