नयाँ वर्षसंगै पोखरादेखि मुक्तिनाथसम्म पर्यटकको चहलपहल

Share:

पोखरा । नयाँ वर्ष २०७६ को आगमनसंगै यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुक्तिनाथसम्म परेको छ ।

विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुक्तिनाथसम्म नै चहलपहल बढाएको हो ।

विशेषतः चैतको अन्तिमतिर दुईरचार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न भूभागबाट आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी एवं होटल एशियाका सञ्चालक धर्मराज पन्थीले बताए ।

नजिकिँदै गरेको नयाँ वर्षलाई लक्षित गरी पोखरामा होटल अग्रिम बुकिङ गर्ने क्रम पनि शुरु भएको उनले जानकारी दिए ।

पोखरामा माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालका साथै पोखराका सराङकोट, विश्वशान्ति स्तूप, महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा, सेती नदी र पातले छाँगो आदिले पर्यटक लोभ्याउने गरेका छन् ।

पोखरा हुँदै हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथलाई लक्षित गरी जाने पर्यटकका कारण यतिखेर उक्त क्षेत्रमा पनि चहलपहल बढेको छ ।

चैते दशैँ शुरु भएयता मुक्तिनाथ मन्दिरमा दैनिक झण्डै चार पाँच हजारको हाराहारीमा दर्शनार्थी पुग्ने गरेको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

पर्यटकहरू पोखराबाट हवाई यातायातका साथै स्थलमार्गबाट गाडी चढेर मुस्ताङ पुग्छन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय मुक्तिनाथ मात्र पुगेर फर्कन्छन् भने कतिपय उपल्लो मुस्ताङ लोमन्थाङ हुँदै नेपाल–चीनबीचको नाका कोराला पुगेर फर्कन्छन् ।

पछिल्ला दिनमा स्थलमार्ग हुँदै दैनिक १५० बढी गाडी मुक्तिनाथ भित्रने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय मुस्ताङका प्रहरी सहायक निरीक्षक विष्णु पल्ली मगरले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: