
काठमाडौं । विभिन्न २२ बुँदे माग राख्दै आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारले वार्तामा बोलाएको छ ।
कानून न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभवक्त ढकालले आइतबार राप्रपा अध्यक्ष कमल थापालाई एक पत्र पठाउँदै वार्तामा आउन आग्रह गरेका हुन् ।
राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले सरकारले आइतबार वार्ताको आह्वान गर्दै पत्र पठाएको पुष्टि गर्दै सरकारको आह्वानलाई पार्टीले सकारात्मक रुपमा लिएको बताए ।
उनले अब सरकारसँग वार्ता गर्नका लागि समिति गठन गरेर अघि बढिने बताए । उनका अनुसार सम्भवतः भोलि पार्टीको बैठक बसेर पार्टीको तर्फबाट वार्ता टोलीको नाम तय गरिनेछ ।
नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ।
राप्रपा अध्यक्ष थापाले गत फागुन ७ गते प्रधानमन्त्री ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराएका थिए । तर सो मागको कुनै सुनुवाई नभएपछि राप्रपा आन्दोलनमा होमिएको थियो ।
