
पोखरा। गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा १४ थान हतियार बुझाइएको छ ।
गृह मन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो संख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।
हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् । तीमध्ये चारवटा इजाजत नभएका र अरूको इजाजत नवीकरण नगरिएको उनले जानकारी दिए ।
२०७५ साल चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर गृहमन्त्रालयले हतियार बुझाउन निर्देशन दिएको थियो। एकपटकलाई नेपाल सरकारले नविकरण नगरेका र अवैध रुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन गरेको हो।
समयभित्र हातहतियार नबुझाए मुलुकी हातहतियार संहिता २०७२ बमोजिम कारबाही हुनेछ।
