
तनहुँ। तनहुँमा एकैदिन भएका दुई छुटाछुटै दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् ।
मंगलबार भएको दुर्घटनामा परी मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार स्कुटरमा सवार उनलाई दमौलीमा माइक्रोबसले ठक्कर दिएको हो ।
पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नम्बरको स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । यस्तै मंगलबार नै सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
मंगलबार बिहान २ बजे ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् ।
घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको लामिछानेले जानकारी दिए ।
उनका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो । दुर्घटनालगत्तै बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० यात्रु सवार थिए ।
यसअघि सोमबार पोखराबाट दमौली जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट ठक्कर दिँदा पोखराका सन्दिप कुँवरको मृत्यु भएको थियो।
