
पोखरा। अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी फर्किँदा हराएका एक मलेसियन नागरिकको शुक्रबार बिहान उद्धार गरिएको छ। उनलाई अहिले काठमाडौंको मेडिसिटी अस्पताल लगिएको छ।
मंगलबारदेखि हराएका मलेसियन नागरिक वि किन चिनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्दार गरिएको हो।
बिमा कम्पनी ‘ग्लोबल रेस्क्यु’ ले खोजी कार्यमा बेवास्ता गरेपछि उनकी श्रीमतीले सिम्रिक एयर गुहारेकी थिइन्।
उनी हराएको खबर बुधबार साँझ मात्र थाहा भएको थियो । खबर पाएपछि बिहीबार उज्यालो हुनासाथ क्याप्टेन सिद्धार्थजंग गुरुङ सिम्रिक एयरको हेलिकोप्टर लिएर त्यसतर्फ उडेका थिए।
सिद्धार्थले हेलिकोप्टरबाट हात हल्लाइरहेको देखेका थिए । तर ग्लोबल रेस्क्युले जीवित नहुन पनि सक्ने भन्दै बेवास्ता गरेको थियो। उनी हिमालको मध्यभागतिर भेटिएका थिए।
