पोखरामा नयाँ प्याराग्लाइडिङ इजाजत बन्द

Share:

काठमाण्डौ ३ असोज । सरकारले बुधबारदेखि कास्कीमा नयाँ प्याराग्लाइडिङ सञ्चालन इजाजतपत्र दिन बन्द गरेको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कास्कीको सारङकोट, तोरेपानी र मान्द्रेढुंगा क्षेत्रमा नयाँ कम्पनी सञ्चालनका लागि अनुमति दिन बन्द गरेको हो । मन्त्रालयका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्णय गरिएको हो ।

त्यस्तै पोखरा विमानस्थलबाट १० नटिकल माइलको रेडियसभित्र निर्धारण गरिएको कन्ट्रोल जोन र विमानस्थल जोड्ने एटीएस रुट निर्धारण भएका क्षेत्रमा पनि प्याराग्लाइडिङलाई इजाजत रोक्ने भएको छ । भदौ अन्तिमसम्म नागरिक उड्डयन प्राधिकरणमा निवेदन दर्ता भई राय प्राप्त भएका भएका कम्पनीका हकमा भने रायअनुसार प्रक्रिया अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

Paraglading

मन्त्रालयले गरेको निर्णयमा भदौपछि प्राप्त भएका निवेदनलाई भने कास्कीबाहेकका क्षेत्रमा वैकल्पिक क्षेत्र पहिचान गरी इजाजत दिन सकिने उल्लेख छ । ुवैकल्पिक क्षेत्रका लागि प्राधिकरणलाई छिटो प्राविधिक सर्वेक्षण पूरा गर्न भनिएको छ,मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने । यसका लागि प्याराग्लाइडिङसँग सम्बन्धित प्राविधिक तथा अपरेसनल पक्षको विषयमा प्रवर्द्धक तथा पाइलटसमेत राखी विस्तृत छलफल गर्न भनिएको छ ।

पोखराभित्रको प्याराग्लाइडिङलाई व्यवस्थित र सुरक्षित राख्न अवतरण क्षेत्रको आसपास पायक पर्ने गरी सुरक्षा प्रहरी चेक पोस्टको व्यवस्था गर्नुपर्ने निर्देशन मन्त्रालयले दिएको छ । यसको जिम्मेवारी जिल्ला प्रहरी कार्यालयले मिलाउनेछ । त्यस्तै अवतरण क्षेत्रमा एक एम्बुलेन्सको व्यवस्था अनिवार्य गर्न एयर स्पोर्टस एसोसिएसनलाई निर्देशन दिइएको छ । मन्त्रालयले यस्तो निर्णय भदौ ३१ गते गरी सम्बन्धित सबैलाई पत्राचारसमेत गरिसकेको कान्तिपुर दैनिकले छापेको छ ।

उक्त निर्णयअनुसार पोखराका कम्पनीको नियमित अनुगमन गरी प्रत्येक ३ महिनामा प्रगति विवरण मन्त्रालयमा पठाउने जिम्मेवारीसहित अनुगमन समिति समेत गठन गरिएको छ । उक्त समितिको संयोजकका रूपमा पोखरा विमानस्थल प्रबन्धक, कास्की जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक र एयर स्पोर्टस एसोसिएसनका २ जना प्रतिनिधि रहनेछन् । प्राधिकरणले सन् २०१२ मा एकैपटक नयाँ सात कम्पनीलाई इजाजत पत्र दिएपछि अहिले पोखरामा १७ वटा प्याराग्लाइडिङ कम्पनीले पर्यटकहरूलाई मनोरञ्जन गराइरहेका छन् ।

एउटा कम्पनीलाई मौसम हेरेर दिनमा ६ देखि ७ उडान गर्ने अनुमति दिइन्छ । सराङकोट तोरीपानी(ढिकीखोला प्याराग्लाइडिङको रुट हो । सञ्चालित सबै प्याराग्लाइडिङ कम्पनीले वाषिर्क ५ हजार हाराहारी पर्यटक पाउँछन् । जसमध्ये ६० प्रतिशत विदेशी पर्यटक हुने गर्छन् । सन् २००७ देखि नेपालमा प्याराग्लाइडिङ सुरु भएको हो । त्यस्तै काठमाडौंमा पनि प्याराग्लाइडिङका लागि दुई कम्पनी छन् । त्यस्तै बन्दीपुरमा समेत प्याराग्लाइडिङ सुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: