
रञ्जन अधिकारी पोखरा, ४ असोज / अपांगता भएका व्यक्तिहरु हरक्षेत्रमा पछाडी पारिएकाले उनीहरुलाई स–सम्मान जिऊने वातावरणको सिर्जना गर्न सरकारसँग सरोकारवालाले जोडदार माग गरेका छन् । अपांगहरु मध्ये उल्लेख्य संख्यामा रहेका बहिराहरुलाई राज्यले हरेक क्षेत्रमा सांकेतिक भाषा सिकाउने र दोभाषेको व्यवस्था गर्न बहिरा समुदायले ध्यानाकर्षण समेत गराएका छन् ।
गण्डकी बहिरा संघको शनिबार पोखरामा भएको २५ औं वार्षिक साधारणसभामा बहिरासँग सम्बन्धित संस्थाका प्रतिनिधिले निशुल्क सीप सिकाई रोजगारीको पूर्ण व्यवस्था गर्न पनिे माग गरे । श्रवण शक्ति र आवाज गुमेपनि दोभाषेको सुविधा नहुँदा सक्षम व्यक्तिहरु समय खेर फालेर बस्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै उनीहरुले सांकेतिक भाषा सिकाएर दक्ष जनशक्ति उत्पादनमा लाग्न सरकारलाई आग्रह पनि गरेका छन् । ‘हामीले कान नसुन्ने र मुख नबोल्ने मात्रै हो । अवसर र सीप पाए गर्नसक्ने क्षेत्रमा अरु सुन्नेहरु जस्तै सबै गर्न सक्छौं ।’ उनीहरुको एउटै आवाज छ– ‘पहिलो त सांकेतिक भाषा सिक्नै समस्या छ । दोभाषे नहुँदा मनका कुरा कसैसँग बाँड्न नपाउँदा हामीलाई जिउन कति असहज छ । राज्यले चासो देओस् ।’
उनीहरुले जिविसले अपांगता क्षेत्रका लागि छुट्टाउने १५ प्रतिशत बजेट मध्ये बहिरा समुदायलाई निश्चित प्रतिशत छुट्टाउनुपर्ने, सरकारले निर्धारण गरेको अपाङ्ग कोटामा बहिराहरुलाई निश्चित कोटा छुट्टाउनुपर्ने, सिटिईभिटी अन्तर्गत सीपमुलक शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, सीप प्राप्त बहिराहरुलाई रोजगारीको पूर्ण ग्यारेण्टी हुनुपर्ने माग गरे ।
बहिरा समुदायका यस्ता गुनासो सुनेपछि प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले राज्यले अपाङ्गता भएका व्यक्तिको रोजगारीमा निश्चित कोटा छुट्टाएको भन्दै अपाङ्गहरुको कार्यसम्पादन अवस्था निकै सन्तोषजनक रहेको बताए । ‘निजामति सेवा ऐन दोस्रो संशोधन २०६४ अनुसार अपाङ्गता भएका व्यक्तिहरुका लागि निश्चित कोटा छुट्याईएको छ ।’ उनले भने– ‘अपाङ्गहरु सेवामा लागेपनि उनीहरुले गर्ने काम निकै राम्रो छ । कामप्रति उत्तरदायी छन् ।’ समाजले अपाङ्गहरुलाई हेयभावले हेर्न नहुने भन्दै उनले फरक क्षमता भएका व्यक्तिहरु शिक्षित बने समाजमा राम्रोसँग जीवनयापन गरिरहेको आफूले पाएको बताए ।
राष्ट्रिय बहिरा महासंघकी अध्यक्ष कल्पना बज्राचार्यले सांकेतिक भाषा नसिकेसम्म बहिराहरुले केहि गर्न नसकिने अवस्था रहेको र सिकेपछि पनि दोभाषेकै समस्या हुँदा जीवन असहज रहेको बताईन् । उनले बहिराहरुका लागि छुट्टै बजेट विनियोजन गर्न माग पनि गरिन् ।
एशिया प्यासिफिक बहिरा संघका सदस्य तथा महासंघका सल्लाहकार राजेन्द्रप्रसाद शर्माले मकाउ लगायतका मुलुकमा बहिराहरुलाई विशेष प्राथमिकताका साथ हेरिरहेको उदाहरण दिँदै अपांगैमैत्री समाज निर्माणमा हाम्रो मुलुक चुकेको बताए । उनले स्वरोजगार बने बहिराहरु पनि सबलाङ्ग जस्तै जीवनयापन गर्न सक्ने बताउँदै सबैलाई शिक्षा लिन र सीप सिक्न आग्रह गरे ।
सिर्जना बहिरा विद्यालयकी प्राचार्य अनिता सिग्देलले बहिरामैत्री शिक्षा र पाठ्यक्रमका लागि सरकारले ध्यान दिनुपर्ने बताईन् । बहिरा विद्यार्थीहरुलाई सुरुमा सांकेतिक भाषा सिकाउन गाह्रो भएपनि उनीहरुको क्षमता अन्य जस्तै हुने बताईन् ।
कार्यक्रममा सृजना विकास केन्द्रका राजु पौडेल, स्याङ्जा बहिरा संघका अध्यक्ष दीपक पोखरेल, गैसस महासंघ कास्कीकी कोषाध्यक्ष गोमा ढकाल, मेरुदण्ड पक्षघात संघ कास्कीका अध्यक्ष हरिकृष्ण शर्मा, गण्डकी बहिरा संघका कार्यक्रम अधिकृत हेमरत्न राई, सल्लाहकार हरिप्रसाद बराल, मानार्थ सदस्य प्रेमबहादुर जिसी लगायतले बोलेका थिए ।
संघका अध्यक्ष चन्द्रकान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सूर्यमोहन बरालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष जमानसिंह गुरुङले स्वागत गरेका थिए भने सिर्जना बहिरा विद्यालयका शिक्षक रुद्रबहादुर पहारी, संघकी दोभाषे सुनिता थापा र केन्द्रकी दोभाषे विद्या श्रेष्ठले दोभाषेको जिम्मेवारी पूरा गरेका थिए । सो अवसरमा गत वर्षको प्रवेशिका परीक्षामा उत्तीर्ण २९ जना बहिरा विद्यार्थीलाई सम्मान, संघका सदस्य लालवीर परियारलाई सिलाई मेसिन हस्तान्तरण तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिएको थियो ।

