छोरेपाटनमा भागवद् महापुराण सुरु, मरेपनि बाँचिरहने सपना साँचौ: न्यायाधीश आचार्य

Share:

रञ्जन अधिकारी पोखरा, ५ असोज/ पोखरा १७ छोरेपाटन स्थित दुर्गा मन्दिर प्राङ्गणमा आईतबारदेखि श्रीमद् भागवद् महापुराण ज्ञान यज्ञ सप्ताह सुरु भएको छ । दुर्गा मन्दिर व्यवस्थापन समिति र श्री स्वर्गद्वारी शान्ति बाटिका शान्ति अभियानको संयुक्त आयोजनामा दुर्गा मन्दिरको भौतिक निर्माण सहयोगार्थ ज्ञानयज्ञ सुरु भएको हो । ‘नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् ।’ अभियान अन्तर्गत यो २६ औं कार्यक्रम हो ।

IMG_0374

ज्ञानयज्ञको शुभारम्भ पुनरावेदन अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्यले गरे । आईतबार बिहान दुर्गा मन्दिरबाट १०८ लश, नौमति बाजा, भजन किर्तन सहित छोरेपाटन नगरपरिक्रमा गरी पुनः दुर्गा मन्दिरमा कलश भित्राएर ज्ञानयज्ञको औपचारिक शुभारम्भ गरिएको थियो । प्रमुख अतिथि आचार्यले मरेर पनि बाँचिरहने सपना साँच्नुपर्नेमा जोड दिँदै अनि मात्र मानिस भएर जन्मनुको सार्थकता रहने बताए । ‘कुकुरको जस्तो होईन, मान्छेकै मरण होस् भनेर भन्छौं । तर, यसका लागि धेरै गर्नुपर्ने हुन्छ ।’ उनले भने– ‘सुसभ्य र सुसंस्कृत समाज निर्माणका लागि धर्मबाट च्युत हुनुहुँदैन । मानव भएर मानवीय धर्म पूरा गर्नुपर्छ ।’

आचार्यले खस्कँदो नैतिक धरातलतले समाज बिग्रिएको भन्दै चिन्ता व्यक्त गरे । कथित पाश्चात्य संस्कृतिको प्रभावले बढ्दो सम्बन्ध विच्छेद, विदेशिने र लाहुर प्रवृत्ति, बढ्दो भ्रुण हत्या, बालबालिकाहरु अश्लिल लत र दुव्र्यसनीमा फस्नु, बाबुआमालाई बृद्धाश्रममा फाल्दिने प्रवृत्तिले आफूलाई अत्यन्त दुःखी तुल्याएको भन्दै उनले शुद्ध मन, संस्कार र धर्मलाई जीवनपद्धतिमा लागू गर्न आग्रह गरे । जनगणना अनुसार १० वर्षमा ४ देखि ५ प्रतिशत हिन्दु धर्मावलम्बी घटिरहेको जनाउँदै उनले यसको कारणबारे खोजी जरुरी रहेको बताए । ‘स्वेच्छाले हो भने धर्म परिवर्तन गर्न कानुनले दिन्छ तर कुनै मिस्टर जोनार्थनले लोभलालचमा समाज भड्काएको हो भने मान्य हुँदैन ।’ उनले भने – ‘अर्को कुरा व्यवहारिकताको कमीले हो कि ? बढि उदार पो भयौं कि वा पथ भ्रष्ट भयौं, हामीले पनि विचार गर्नुपर्छ ।’ समग्र क्षेत्रमा नेतृत्वका कारण देश डुबिसकेको जनाउँदै उनले पापी, भ्रष्टाचारी निमिट्यान्न नभईन्जेल मुलुकको समृद्धि पनि नहुने भएकाले सबै यसतर्फ सचेत बन्न आग्रह गरे ।

पोखरामा तीन वर्ष काम गरेपछि हेर्टौंडा सरुवा भएका आचार्यले ३५ वर्षे जागिरको सिलसिलामा २१ औं पटक सरुवा भएको जनाउँदै पोखरालाई आफूले कहिल्यै नभुल्ने गीतकविता मार्फत नै सुनाए ।

ज्ञानयज्ञका प्रमुख वाचक कथा शिरोमणि युवा पण्डित दीपकप्रसाद पौडेलले आफू सर्लाहीको भएपनि नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने अभियानका साथ गत पुस २२ गतेदेखि तीन वर्षभित्र ७२ जिल्ला सक्ने गरेर २६ औं कार्यक्रम अन्तर्गत पोखरा आएको जानकारी दिए । ‘नेपालमा शान्ति क्षेत्र घोषणा गर्न छिमेकी मुलुक, अन्तर्राष्ट्रिय समुदायले छेक्दैन ।’ उनले भने– ‘उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार लगायतका क्षेत्र बन्द मुक्त बनाऔं, मुलुक शान्त हुन्छ । यसको लागि न भारतले छेक्छ न अमेरिकाले नै ।’ पण्डित पौडेलले समाजमा चेतनाको विकास नहुन्जेल माथि उठ्न नसक्ने भएकाले धार्मिक जागरणबाट समाजलाई सचेत बनाउनुपर्ने उल्लेख गरे ।

मुलुक धर्म निरपेक्षता हुनै नसक्ने भन्दै उनले धार्मिक स्वतन्त्रता भएको बताए । ‘जुन धर्म मान्नुस् तर कुनै पनि धर्मको व्यक्ति पापी, अपराधी हुँदैन ।’ उनले भने– ‘मेरो यो अभियान कुनै धर्मको विरोधमा होईन, राजनीतिको एजेण्डा बोकेर हिँडेको पनि होईन ।’

राममन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वरिष्ठ समाजसेवी नागरिक अभियन्ता लिलाभक्त आचार्यले बाचुञ्जेल स्वार्थमा मात्र अल्झेर होईन समाजका लागि केहि गरेर मर्नुपर्ने बताए । उनले राम मन्दिर र दुर्गा मन्दिर सँगै निर्माण भएपनि दुर्गा मन्दिरको अवस्था दयनीय बनेको भन्दै स्थानीय सबैले केहि गर्नुपर्ने बताए ।

समितिका सल्लाहकार प्राध्यापक डा. भूपति ढकाल, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङ मामा, शिवजी मन्दिुर तथा नमोबुद्ध गुम्बाका अध्यक्ष सुनबहादुर गुरुङ, पत्रकार संयोजक शैलेषराज अर्याल लगायतले बोलेका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका समितिका अध्यक्ष पदमबहादुर थापाले सबैले आफूले सक्दो दान दिएर मन्दिरको भौतिक पूर्वाधार निर्माणमा सहयोग गरी पूण्य लाभ लिन अनुरोध गरे । सहसचिव खेमराज बरालले स्वागत गरेको कार्यक्रमको संचालन सचिव विजय कुमार शाहीले गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: