एअरपोर्ट बन्यो , बिस्कुन सुकाउने ठाउँ !

Share:

रुकुम पश्चिम – रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थल आज भोलि विमानको सट्टा बिस्कुन सुकाउने काममा प्रयोग हुँदै आएको छ ।

कालोपत्रे गरिएको विमानस्थल यसरी दिनहुँ बिस्कुन सुकाउने काममा प्रयोग हुँदा विमानस्थल सुरक्षा र प्रशासनिक कार्यशैलीबारे प्रश्न उब्जिएको छ । विमानस्थलमा जहाज आउनुको साटो बिस्कुन सुकाउने काममा प्रयोग भएपछि विमानस्थलको प्रयोजन र करोडौको लगानी खेर गएको छ ।

विमानस्थलको जिम्मेवारी बोकेको चौरजहारी नागरिक उड्डयन कार्यालयका कर्मचारीहरु कार्यालयमा देखा पर्दैनन् । सुरक्षाका लागि खटिएका प्रहरीहरु पनि त्यति जिम्मेवार नदेखिँदा स्थानीयहरुले बिस्कुन सुकाउने काममा एअरपोर्ट प्रयोग गर्न थालेका हुन् ।

यस विषयमा चौरजहारी नागरिक उड्डयन कार्यालयका प्रमुख सुगत मानन्धरले आफू बिदामा काठमाण्डौ गएको तर विमानस्थल सुरक्षाको लागि ३ जना सुरक्षाकर्मी रहेको बताउनुभयो । उहाँले यसबारेमा आफूले तत्कालै बुझेर समस्या समाधान गर्ने जनाउनुभयो । उहाँले जेठ १८ गतेदेखि जहाज नियमित हुनेसमेत बताउनुभयो ।

हप्ताको दुई दिन नेपालगञज र काठमाण्डौमा उडान हुने यस विमानस्थलमा तीन हप्ता अघि देखि जहाज आएको छैन । नेपाल वायु सेवा निगमले जहाज र पाइलटको अभाव भन्दै उडान बन्द गरेको हो ।  चौरजहारी विमानस्थल कालोपत्रे भएपछि गएको कात्तिक पहिलो साताबाट सञ्चालनमा आएको थियो ।

विमानस्थल कालोपत्रे हुँदै गर्दा डेढ वर्ष बन्द गरिएको थियो । कालोपत्रे गरिएको सत्र महिनापछि सुरु भएको विमानस्थल तीन साता अघिदेखि फेरि बन्द भएको छ । २०२८ सालबाट सञ्चालनमा आएको चौरहारी विमानस्थलबाट रुकुम पश्चिम, जाजरकोट र सल्यानका सर्वसाधारणले सेवा लिने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: