
असोज ६ – – केराको बोक्रामा टेक्दा तपाईं किन चिप्लिनुहुन्छ ? स्याउ अथवा सुन्तलाको बोक्रामा टेक्दा भने चिप्लिनु हुन्न किन ?केरा खाएर फालेको बोक्रामा टेकेर लडेको अनुभव त तपाईंसँग पक्कै पनि होला । किन चिप्लिएँ भनेर तपाईंले कहिल्यै पनि ध्यान दिनु भएको छैन ।
तर जापानका वैज्ञानिकहरुले भने यहि विषयमा अनुसन्धान गरेका छन् र उनीहरुको यही अनुसन्धानले यस वर्षको भौतिकशास्त्र तर्फको आइजी नोवेल पुरस्कार पाएको छ ।
जापानको किटसातो विश्वविद्यालयका प्राध्यापक कियोसी मोबुची नेतृत्वको वैज्ञानिकहरुको समूहले केराको बोक्रामा टेक्दा उत्पन्न हुने घर्षणको प्रयोगशालमा मापन गरेर केराको बोक्रामा टेक्दा मानिस किन चिप्लिन्छ भन्ने पत्ता लगाएका छन् । केराको बोक्रामा टेक्दा ०.०७ मात्र घर्षण उत्पन्न हुने उनीहरुको अध्ययनले देखाएको छ । जुन अन्य बस्तुमा टेक्दा उत्पन्न हुने घर्षण भन्दा निकै कम हो । यही कम घर्षण उत्पन्न हुने भएकाले केराको बोक्रामा टेक्दा मानिस चिप्लने वैज्ञानिकहरुको निष्कर्ष छ ।
जुन बस्तुमा मानिसले टेक्छ त्यसपछि उत्पन्न हुने घर्षणले नै चिप्लिन्छ कि चिप्लिँदैन भन्ने निर्धारण हुन्छ । स्याउ वा सुन्तलाको बोक्रामा भन्दा केराको बोक्रामा टेक्दा कम घर्षण उत्पन्न हुने भएकाले मानिस चिप्लिने गरेको ती वैज्ञानिकहरुको निष्कर्ष छ । यही अनुसन्धानले यस वर्षको भौतिकशास्त्र तर्फको आइजी नोवेल पुरस्कार ।
के हो आइजी नोबेल पुरस्कार ?
तपाईले नोबेल पुरस्कार त सुन्नु भएकै छ । स्विडिस एकेडेमीले प्रदान गर्ने यो पुरस्कार प्रतिष्ठित छ । यहि नोबेल पुरस्कारबाट प्रभावित भएर विज्ञानको हाँस्य पत्रिका एनल्स अफ इमप्रोवेवल रिसर्चले हरेक वर्ष आइजी नोबेले पुरस्कार प्रदान गर्ने गर्दछ । आइजी नोबेल पुरस्कार विजेताहरुलाई अमेरिकाको हार्वड विश्वविद्यालयमा हुने समारोहमा नोबेल पुरस्कार जितेकाहरुले पुरस्कार हस्तान्तरण गर्ने गरिन्छ ।
सन् १९९१ मा स्थापना भएको आइजी नोबेल पुरस्कार भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, कला, मनोविज्ञानलगायतका विधामा दिने गरिन्छ । यो पुरस्कार विभिन्न क्षेत्रमा भएका त्यस्ता अनुसन्धान तथा कामहरुलाई दिइन्छ जुन कुरा पहिलो पटक सुन्दा वा पढ्दा मानिसलाई हाँसो उठ्न सक्छ । तर ती कुरा दैनिक जीवनमा प्रायः भोगिरहे पनि किन यस्तो भयो भनेर मानिसले कहिल्यै सोचेको हुँदैन ।
– एजेन्सीको सहयोगमा
