गोरखाको रिपुथोक सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

Share:

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा स्थित रिपुथोकलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । विभिन्न तीन चरणमा खानेपानीको शुद्धता मापन गरी त्यहाँका ३२ घरधुरी परिवारले पिउने पानी सुरक्षित भएको प्रमाणित भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

उक्त मापनबाट पानीमा किटाणु भए नभएको थाहा हुने उत्पीडित समुदाय विकास शाखा अनुसन्धान केन्द्र (कोसडर) गोरखाका कार्यक्रम संयोजक काजीराम रोकाको भनाइ छ । उनले आयोजनाका स्रोत, भण्डारण, वितरण प्रणाली, धारा र घरायसी भण्डारण सबैको गुणस्तर मापनसमेत गरिएको समेत बताए ।

युनिसेफको आर्थिक र कोसडरको प्राविधिक सहयोगमा करीब पाँच लाखको लागतमा त्यहाँ कार्यक्रम सञ्चालन गरिएको उनले बताए । मंगलवार आयोजित घोषणा कार्यक्रममा बोल्दै शहीद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले पालिकाभित्र सबै नागरिकमा सुरिक्षत पिउनेपानीको उपलब्ध गराउन लागि परेको बताए ।

उनले ठूलो रिपुखोला खानेपानी आयोजनाका उपभोक्ताले पिउनेपानी सुरक्षित भएको घोषणा कार्यक्रम गाउँपालिकाले गर्व गर्न लायक कार्यक्रम भएको भन्दै विस्तारै सबै वडालाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: