एमाले नेतृ सहाना प्रधानको निधन

Share:

काठमाण्डौ ७ असोज । नेपाली महिला तथा प्रजातान्त्रिक आन्दोलनकी अगुवा एवं एमाले नेतृ सहाना प्रधानको निधन भएको छ । तीन वर्षदेखि अस्वस्थ रहेकी ८७ वर्षिया प्रधानको गएराति ११ बजे काठमाण्डूको बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

sahana-pradhan

श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय बल्खुमा राखिएकोमा शवयात्रा सहित आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। प्रधानलाई श्रद्धाञ्जली दिन बल्खुमा एमाले सहित बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको थियो । पूर्व प्रधानमन्त्री एवं एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराई, कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायत नेताहरु बल्खुमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाली महिला आन्दोलन, नागरिक अधिकार, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको एउटा मियो भएर काम गरेकी सहाना प्रधानको जन्म काठमाण्डूको असनमा भएको हो । मध्यमवर्गीय व्यापारी परिवारमा जन्मेकी सहानाले दुई वर्षको उमेरमै आमाको काख गुमाईन् । त्यसको दुई वर्षपछि हजुरआमा र बाबाका साथ बर्मा गईन् ।

सातौं कक्षाको पढाई सकेर विसं २००० सालमा उनि काठमाण्डू फर्किइन् । २००४ साल बैशाख १७ गते पहिलोपटक संगठित रुपमा राणा विरोधी नारा लगाउने चारजना महिलामा उनि पनि थिईन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग उनको २००९ सालमा विवाह भयो । २०३५ सालमा पुष्पलालको निधनपछि पुष्पलाल समूहको नेतृत्वको पार्टीमा उनि प्रवक्ता भईन् । २०४३ मा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीको सचिव थिईन् । जनआन्दोलन २०४६ मा उनले बाममोर्चाको अध्यक्ष भएर आन्दोलनको नेतृत्व गरिन् । २०४८ र २०५१ को आम निर्वाचनमा उहाँ प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनि मन्त्री पनि बनेकी थिईन् ।

कमेन्ट गर्नुहोस्
Share: