
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–६ ले वडाभित्र रहेका वरपिपल, चौतारी, धारा र कुवा संरक्षण अभियान शुरु गरेको छ । ग्रामीण वस्तुको सुन्दरतालाई कायम राख्न वर्षौ पहिले रोपिएका वरपिपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा)को संरक्षण र मर्मतसम्हारका लागि बजेट नै विनियोजन गरेर संरक्षण अभियानको कामसमेत शुरु गरेको छ ।
वडाभित्र रहेका वरपिपल, चौतारी, पोखरी र धाराको संरक्षणमा स्थानीयवासीलाई समेत सहभागी बनाएर धमाधम मर्मतसम्भार र संरक्षणको काम भइरहेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए । वरपिपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क राख्ने काम भइरहेको बानियाँले बताए ।
साविकको अर्थुङ्गो गाविसअन्तर्गत विभिन्न बस्तीमा निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धाराहरु सडक खन्ने क्रममा पुरिएपछि वडा कार्यालयले वातावरण तथा सम्पदा संरक्षण शीर्षकमा बजेट नै विनियोजन गरेर संरक्षणको काम थालेको र यसको जिम्मेवारी समुदायलाई दिइएको छ । बानियाँका अनुसार वडामा अहिलेसम्मको तथ्याङ्कअनुसार ५० भन्दा बढी वरपिपल र चौतारी छन् ।
तीमध्ये कतिपय जीर्ण अवस्थामा पुगेका छन् भने कतिपय सामान्य मर्मत गरे हुने खालका छन् । गाउँबाट सदरमुकाम तथा अरु ठाउँमा जाने बटुवालाई लक्षित गरी धार्मिक आस्थाका आधारमा रोपिएका वरपिपल र बनाइएका चौतारीको अभिलेखसमेत राखिएका छन् । त्यसैगरी ५५ पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएका र तीनलाई पुनः पहिलाकै अवस्थामा ल्याउन स्थानीयवासीको श्रमदान र वडाको आर्थिक सहयोगमा काम भइरहेको उनले जानकारी दिए ।
वडामार्फत सञ्चालन गरिएको यस अभियानलाई स्थानीयवासीले समेत स्वतःस्फूर्तरूपमा साथ दिएका छन् । वरपिपल संरक्षणको उचित व्यवस्था मिलाउन नियमित अनुगमनका साथै स्थानीयवासीलाई नै समेटेर सम्पदा संरक्षण समितिसमेत बनाइएको छ । समितिले वरपिपल मास्न, काट्न, रुखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रुखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी पाएको छ ।
विसं २०७५ माघ ८ गते गण्डकी प्रदेश सरकारले वरपिपल र चौतारी संरक्षणका लागि कानून नै बनाएर प्रदेशसभाबाट पारित गरिसकेको छ । प्रदेश सरकारले कानून बनाए पनि स्थानीयस्तरमा डोजर नै लगाएर मास्न थालेपछि पछिल्लो समय वरपिपल संरक्षणको विषयमा बहस नै चल्न थालेको छ । वरपिपल र चौतारी पोखरीको संरक्षणप्रति समुदायको चासो पनि बढ्दै गएको छ ।
