चार महिनामा मनाङ भित्रिए १० हजार विदेशी पर्यटक

Share:

मनाङ। अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महिनादेखि वैशाखसम्ममा १० हजार ६०७ विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन ।

जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरूप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्माले बताए । उनका अनुसार हिमपातका कारण मौसम ढिलो शुरू भएकाले सोचेजति पर्यटक पुग्न नसकेका हुन् ।

हिमपातका कारण होटल व्यवसायी पनि समयमा गाउँ फर्कन पाएका थिएनन् । लमजुङ बेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । यस्तो परिस्थितिमा पनि पर्यटकको आगमनमा कुनै गिरावट नआएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।

अहिलेको मौसममा सबैभन्दा बढी इजरायली नागरिक ६०७ भित्रिएका छन् । सबैभन्दा कम भियतनामी २१३ रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । यो मौसम जनावरीबाट शुरू भई मेमा सकिने गर्छ ।

सिजनको पहिलो महीना जनवरीमा सबैभन्दा कम जम्मा ४७२ मनाङ भित्रिएका थिए भने सबैभन्दा बढी अप्रिलमा ५ हजार ९८ पर्यटक भित्रिएका धारापानी पर्यटक प्रहरीले जनाएको छ ।

यो सिजनमा जर्मन, फ्रान्स, ब्रिटिश, रसिया, भियतनाम, इजरायल र अमेरिका गरी जम्मा सात देशका नागरिक मनाङ आएका हुन् । अत्यधिक हिमपातले पर्यटक आवागमनमा प्रभाव पारेको हो ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: