
पर्वत । पर्वतको सदरमुकामदेखि कुस्मा बजारसम्म जोड्ने लुङ्खु–हुवास सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढेको छ । पर्वतको मध्य क्षेत्रका लागि लाइफलाइन मानिने लुङ्खु-हुवास सडक कालोपत्र गर्नका लागि ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) पर्वतले टेण्डर आह्वान गरेको हो । टेण्डर आह्वानसँगै कालोपत्रका लागि प्रक्रिया शुरु भएको छ ।
आरसिआइपीले लुङ्खु हुवास सडकको १५ किलोमिटर खण्डका ठेक्का आह्वान गरेको छ । उक्त सडक कालोपत्र गर्नका लागि गएको मङ्सिरमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार भएको थियो । डिपीआर तयार भए पनि ठेक्का सम्झौता गर्न स्वीकृति नदिँदा अन्योल सिर्जना भएको थियो ।
ठेक्का आह्वानपछि निर्माण प्रक्रिया अघि बढेको आयोजनाका कार्यक्रम व्यवस्थापक विजय रानामगरले बताए । महाशिला र पैँयु गाउँपालिका जोड्ने २० किमी को यो सडक कालोपत्रे भएपछि पैँयु गाउँपालिकाका बासिन्दा स्याङ्जा, पोखरा भएर वर्षायाममा कुस्मा आउनुपर्ने बाध्यता हट्नेछ । कुश्मादेखि फलेवाससम्मको ६ दशमलव ७ किमी सडक कालोपत्र भइसकेको छ भने लमाय खोलादेखि लुङ्खुसम्मको १३ किमी सडक कालोपत्र गर्न काम भइरहेको छ ।
