राजबादीहरुले नै मेरो पार्टी फुटाईदिएका हुन् : कमल थापा

Share:

रेम बिक
पोखरा, २४ जेठ । त्यसो त राजतन्त्रात्मक प्रजातन्त्र र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीको मुल नेतृत्व कमल थापाले नै सम्हालेका छन् । र, अझै पनि उनले यो मुद्दा छाडेका छैनन् ।

राजासहितको प्रजातन्त्र हुनुपर्छ र धार्मिक निरपेक्षता हटाउनुपर्छ भन्दै यतिबेला उनी स्वाभिमान यात्रा गरिरहेका छन् । यद्यपि राप्रपाले उठाएका यस्ता मुद्दाहरुको कुनै तुक नभएको भन्दै सत्तारुढ नेकपाका अध्यक्षद्वय बेलाबेलामा कुर्लन्छन् ।

तर ‘सास होउन्जेल आश’ हुने भएरै होला, कमल थापाले यो मुद्दालाई छाडेका छैनन् । अहिले त झन् यो मुद्दालाई उनले विशेष रुपमा काँध थापेर हिँडिरहेका छन् । उनकै नेतृत्वमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको छ ।

स्वाभिमान यात्रामा रहेका थापाले पोखरामा पत्रकारहरुसंग भेटघाट गरे । केही आफ्ना कुरा सुनाए । र, केही संचारकर्मीकै राय पनि लिए । अहिलेको सरकारले जनअपेक्षाअनुसारको काम नगरेको गुनासो पोखे । अधिकारजति एकत्रित गरेर नेकपाको सरकार अधिनायकबादी बाटो तर्फ हिँडेको उनको बुझाई छ ।

त्यसैले राष्ट्रिय एकताका लागि राजसंस्थासहितको प्रजातन्त्र नै सबैभन्दा उत्तम विकल्प भएको उनले दाबी गरे । ‘यतिका परिवर्तन आयो भनेर के गर्ने ? राष्ट्रपतिय प्रणाली राजसंस्थात्मक प्रणालीभन्दा झन् महँगो भएर आएको छ । जताततै भद्रगोल छ । यस्तोमा सदियौँदेखि मान्दै आएको अभिभावक संस्थालाई हामीले स्थापित गर्न सक्यौँ भने जनताले राहतको सास फेर्नेछन् ।’ थापाले अगाडि थपे–‘सबै अधिकार जनतामै होस् तर राजसंस्थाले अभिभाकत्व देओस् ।’

उनले राजाकै सल्लाहकारहरुको गलत सल्लाहकै कारण राजतन्त्र गुमेको बताए । ‘खासमा राजसंस्था तत्कालिन समयमा आन्दोलनमा भएका पार्टीहरुले पनि फाल्न चाहेका चाँही होईनन् । त्यो बेलामा माओबादी पनि निरन्तर राजसंस्थासंग वार्ता गर्न र सम्बन्ध अगाडि बढाउन चाहन्थ्यो । तर राजबादी भनाउँदा केही गलत सल्लाहकारहरुले राजालाई गलत दिशातर्फ बढ्न सल्लाह दिए । त्यसैले गर्दा यति ठुलो गरिमा भएको संस्था पाखा लाग्यो ।’

त्यसैक्रममा उनले एउटा खुलाशा पनि गरे–‘मेरो पार्टीलाई टुक्रा टुक्रा पारिदिने नै राजबादीहरुले नै हो । तर पनि राजसंस्थाको गरिमालाई नकार्न नसकेर मैले यो मुद्दालाई उचालेर हिँडेको हुँ ।’ उनले राजसंस्था सबै नेपालीले मान्न सक्ने र अभिभाकत्व ‘फिल’ गराउन सक्ने संस्था भएकैले पुनस्र्थापित हुनुपर्ने धारणा पेश गरे ।

त्यस्तै उनले धर्मको सवालमा पनि बोल्दै भने–‘धर्म निरपेक्षताले देशमा साँस्कृतिक विचलन ल्याएको छ । यसले झन् देशमा धार्मिक भिडन्त निम्त्याउने खतरा देखिन्छ ।’ थापाले समभावसहितको धार्मिक सापेक्ष राष्ट्रको विकल्प अगाडि सारे । ‘यसो गर्दा सनातम हिन्दु धर्म जोगाउन र अन्य धर्मलाई पनि सम्मानपुर्ण हिसाबले लिन गाह«ो हुँदैन ।’

कमेन्ट गर्नुहोस्
Share: