
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् ।
पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा खाँदा दुईको मृत्यु र आठ बिरामी परेका छन् । चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।
बिरामीको नवलपुरस्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएपछि शनिबार अपराह्नबाट बिरामी पर्न थालेका हुन् । वान्ता हुने, बेहोस हुने, अत्तालिने गरेपछि उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको थियो । बिरामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
