पर्वतको तल्लो मोदी आयोजनाको काम ११ दिनदेखि ठप्प

Share:

पर्वत । मजदुर र कर्मचारीको आन्दोलनका कारण पर्वतको तल्लो मोदीखोला जलविद्युत् आयोजना विगत ११ दिनदेखि ठप्प छ । परीक्षण उत्पादनको अन्तिम तयारीमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कार्यरत कामदार र कर्मचारीले जेठ २० गतेदेखि तालाबन्दी गरेर कामकाज ठप्प पारेका हुन् ।

निर्माणकार्यमा संलग्न कामदार र कर्मचारीले स्वतः स्थायी गर्नुपर्नेलगायतका माग राखेर कुश्मा नगरपालिका–८ स्थित कार्यालयमा तालाबन्दी गरेका छन् भने विद्युत्गृह, हेडबक्स र सुरुङमा भइरहेको निर्माणकार्य समेत दश दिनदेखि बन्द छ । आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो ।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनामा कार्यरत कामदारले स्वतः स्थायी गर्नुपर्ने, प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने र विद्युत्गृहलगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग आयोजनासँंग राखेका छन् ।

आयोजनामा कार्यरत ४० कर्मचारीले जेठ २० देखि काम बन्द गराएपछि निर्माणकार्य प्रभावित भएको छ । कर्मचारीले यसअघि जेठ ८ देखि १२ गतेसम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए तर २० गतेपछि समस्या समाधान गर्ने सहमतिमा खुलेको भए पनि आजसम्म पहल नभएको उनीहरूको गुनासो छ ।

विसं २०६९ साउनमा निर्माण शुरु आयोजनाको उत्पादन लक्ष्य २०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र सुरुङभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयवासीको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको आयोजनाले बताउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: