
पोखरा । आज विश्व रक्तदाता दिवस । ‘रक्तदान गरौँ जिवन उपहार दिऔं’ भन्ने नाराका साथ नेपालमा पनि रक्तदान लगायतका बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, साइकल ¥याली, प्रभातफेरी, बक्तृत्वकला, चित्रकला लगायतका कार्यक्रम गर्दैछन् ।
मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्न यो दिवस मनाउन थालिएको हो ।
नेपालमा पहिलोपटक समाजसेवी दयावीरसिंह कंशाकारले रक्तदान गरेर अभियान थालेयता १ लाख ७० हजारले रक्तदान गरेका ब्लड डोनर्स एसोसिएसन नेपालले जनाएको छ ।
जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय बढ्दै गएको बताइन्छ । तर रगत संकलन प्रक्रिया व्यवस्थित नहुँदा रक्तदाताको संख्या बढेपनि समयमै रगत पाउन नसकेर बिरामी र उनीहरुका आफन्तले सास्ती झेल्नु परेको छ ।
मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ०.७ प्रतिशत रहेको हुन्छ ।
सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारिरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुको भनाई छ । सामान्यतया १८ देखि ६५ बर्ष उमेरसम्मका स्वस्थ व्यक्तिको रगत बिरामीका लागि उपयोगी हुने बताइएको छ ।
