
काठमाण्डाै – संसदीय समितिले काठमाण्डाैको तीनकुनेस्थित बागमती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधीन पुल निर्माणमा गम्भीर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।
उपत्यका सडक विस्तार आयोजनाको निर्देशनविपरीत गुणस्तरहीन काम गरेको पाइएकाले त्यस कम्पनीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिएकी छिन् ।
समितिले त्यस पुलको स्थलगत निरीक्षणसमेत गरेको थियो । त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै पुलको निर्माण कार्यअघि बढाउनु भनेकोमा त्यस कम्पनीले त्यसविपरीत काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको हो ।
दिएको निर्देशनसमेत पालना नगर्ने तथा पहुँच र प्रभावको आधारमा आफूखुशी गर्ने त्यस कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको समितिको निष्कर्ष छ ।
