रामघाट स्थित एक घरबाट लागूऔषध सहित एक जना पक्राउ

Share:

पोखरा । पोखराको रामघाट स्थित एक घरबाट ठूलो परिणामको लागुऔषध सहित एक जना पक्राउ परेका छन् । कास्की प्रहरीले  शुक्रबार ठूलो परिणामको लागुऔषध सहित लागुऔषध कारोबारी सन्धुपाल्चोक शंखमुलका डेबिड तामाङलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब निरीक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको टोलीले १८ वर्षका डेबिड तामाङको साथबाट डाईजापाम, फेनरागन र नुर्फिन गरी १ हजार ४६४ एम्पुल, फेन्सिडिल तीन बोरा (३३८ बोतल) र नाइट्रोसन चक्की १०० थान बरामद गरेको कास्की प्रहरीले जनाएको छ ।

रामघाटको उक्त घर लागुऔषध कारोबारीले गोदामको रुपमा प्रयोग गर्ने गरेको सूचना पाएपछि उक्त घरलाई घेरा हाली तामाङ र करिब १३ लाख मूल्य बराबरको लागुऔषध बरामद गरेको जनाइएको छ । प्रहरीको प्रारम्भिक अध्ययनले सोही कोठाबाट लागुऔषध कारोबारीहरुले लागुऔषध बिक्री वितरण समेत गर्ने गरेको खुलेको छ ।

कास्की प्रहरीले दुई दिन अघिमात्रै गोली हानी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: