असार १३ गते पोखरामा ‘मदन भण्डारी साँझा’

Share:

अनुप पौडेल, पोखरा । मदन भण्डारी फाउण्डेसन कास्कीको आयोजनामा पोखरामा आउँदो असार १३ गते शुक्रबार ‘मदन भण्डारी साँझा २०७६’ हुने भएको छ । जननेता मदन भण्डारीको ६७ औं जन्म जयन्तीको अवसरमा सो कार्यक्रम गर्न लागिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

मदन भण्डारीको विचारलाई जनताका बीचमा लैजाने, योगदानको कदर गर्ने, दृष्टिकोणसहितको नागरिक निर्माणका लागि प्रेरित गर्ने र स्थानीय कला,संस्कृतिको संरक्षण र प्रवर्द्वन गर्ने कार्यक्रमका उद्देश्य रहेका छन् । कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारको प्रस्तुतीसँगै गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातिका झाँकी, लोक गीत, लोक नृत्य, भाखाँ र भेषभुषा आदीको प्रदर्शन गरिने संस्थाका अध्यक्ष माधव वास्तोलाले जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशका सांस्कृतिक,आर्थिक,प्राविधिक, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पुराएका तीन जनालाई सम्मान गरिनेछ । अध्यक्ष वास्तोलाका अनुसार जन्म जयन्तीको अवसर ‘मैले चिनेको मदन भण्डारी’ विषयमा अन्तर मा वि जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता पनि हुनेछ । वक्तृत्वकलामा उत्कृष्ट हुने तीन जनाले असार १३ गते हुने मदन भण्डारी साँझामा सोहि शिर्षकमा प्रस्तुती दिनेछन् ।

उनका अनुसार समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका पाँच जनालाई पनि सम्मान गरिनेछ। सम्मानित हुनेहरुको पहिचानका लागि पुण्य पौडेलको संयोजकत्वमा दिलिप विक्रम शाही र तेजनारायण अधिकारी सदस्य रहेको तीन सदस्यीय समिति पनि गठन गरिएको छ ।

दिउँसो ३ बजेबाट पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु हुने कार्यक्रम हेर्नका लागि कुनै पनि शुल्क नलाग्ने वास्तोलाले जानकारी दिएका छन् । वि सं २००९ साल असार १४ गते जन्मिएका भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्
Share: