बजेट पारित भएपछि मन्त्रिमण्डल हेरफेर हुनसक्छ : प्रचण्ड (अडियो)

Share:

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बजेट पारित भएसँगै सरकार पुनर्गठन हुनसक्ने संकेत गरेका छन्। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रिमण्डल फेरबदलको अधिकार प्रधानमन्त्रीको कार्यक्षेत्र भएपनि पार्टी अध्यक्षको रुपमा प्रधानमन्त्री र आफूबीच छलफल भइरहेको जनाउँदै उनले बजेट पारित भएपछि सरकारमा फेरबलद हुनसक्ने बताए ।

सरकारका केही मन्त्रीहरुको क्रियाकलाप्रति असन्तुष्ट रहेका प्रचण्डले मन्त्रालय हेरफेर हुँदा को रहन्छन् र को बाहिरिन्छन् भन्नेबारे भने केही बताएनन् । उनले वर्तमान सरकार पाँचवर्षे सरकार नै भएको दोहो¥याउँदै आफूले सरकारको नेतृत्व परिवर्तन हुनुपर्छ भने अभिव्यक्ति नदिएको जिकिर पनि गरे ।

पार्टी एकता प्रक्रिया र एकताको बेला गरिएका कुराबाट दायाँबायाँ गर्ने छुट कसैलाई नभएको बताएका उनले एकताको बेला गरिएका प्रतिवद्धताको स्मरण पनि गरे । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा सरकारको नेतृत्व आलोपालो गर्ने तथा सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले गर्न नहुने सहमति भएको थियो।

‘हिजो पार्टी एकता नै नगरेको भए जे जे गरे पनि हुन्थ्यो, आ–आफ्ना कुरा थिए,जसरी अगाडि बढे पनि हुन्थ्यो’, उनले भने, ‘पार्टी एकता गरिसकेपछि हिजो गरिएका सहमति संकल्पबाहिर गरिने कुरा सही हैन, त्यो राष्ट्रको लागि पनि अहित हुन्छ।’

पार्टी एकताका क्रममा भएका सहमति र सम्झौताविपरीत जाने छुट कसैलाई पनि नभएको उल्लेख गर्दै प्रचण्डले पार्टी र सरकार सञ्चालनका लागि भएका सहमति निकै अगाडि नै सार्वजनिक भइसकेको भए पनि अहिले विवादमा ल्याउन खोजिएको भन्दै असन्तुष्टी व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्
Share: