
रञ्जन अधिकारी पोखरा, १० असोज / नेपालीहरुको महान पर्व शुभ विजया दशमी घरघरमा भित्रिसकेको छ । वर्षभरी टाढिनेहरुलाई परिवारसँग केहि दिनमात्रै भएपनि भेटघाट गराउने एक हर्षपूर्ण चाड हो बडादशैं । रेडियो, टेलिभिजनमा बडादशैं विशेष धुन बज्न थालिसके । यही धुनले पनि मन रोमाञ्चित बनाउँछ । आँखा सामुन्ने यस्तो धुन गुञ्जिएपछि कसको मन फुरुङ्ग नहोला र ? भारतदेखि पोखरा आएर यस्तो कर्णप्रिय धुन सुनाएपछि दर्शकश्रोताहरु मन्त्रमुग्ध बन्दै अतिथिलाई मज्जैले साथ दिन पुगे ।
पोखरामा शास्त्रीय संगीतको प्रशिक्षण दिँदै आएको गुरुकुल संगीत प्रशिक्षण केन्द्र पोखराले शुक्रबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरेको गुरुकुल स्वर्णिम साँझ–२ मा सीतारबादक बनारस हिन्दु विश्वविद्यालयका संगीत विभाग प्रमुख प्राध्यापक डा. पं. वीरेन्द्र नाथ मिश्रले पोखरेली माझ मालश्री धुन प्रस्तुत गर्दा सहभागीले तालीले स्वागत गरे । उनलाई राष्ट्रपतिबाट नेपाल विद्या भुषण स्वर्णपदक प्राप्त बाँसुरीबादक हरि पौड्याल र तबलाबादक परशुराम पौडेलले साथ दिए ।
हालै स्वर्गे भएका अग्रज गायक सरोजगोपाल बज्राचार्यलाई स्मरण गर्दै उनकै गीत ‘करोड मुटुहरुको एउटै ..’ गीतबाट कार्यक्रम सुरु भयो । त्यसपछि गत महिना सम्पन्न पाँचौ बिग आईकन बन्न सफल कुन्साङ गुरुङले अम्बर गुरुङको ‘जीन्दगीको के कुरा…’ गीत गाउँदा दर्शकहरु फेरि उनमै हराए । कार्यक्रम अवधिभर गुरुकुलमै संगीत प्रशिक्षण लिईरहेका डेढ दर्जन नवोदित गायकगायिकाले कालजयी गीतहरु गाए । पाँचौ बिग आईकनकै फाईनालिष्ट ल्हामो डोल्कर, उत्कृष्ट ८ अनिल बिक, उत्कृष्ट १२ प्रकाश गौतम, तेस्रो बिग आईकनका सेकेण्ड रनरअप आशिषदास दियाली, टप १० भित्र पर्न सफल एबी संकल्प सहित सिनियर तहका प्रशिक्षार्थी रश्मी अमात्य, ७५ वर्षीय ठाकुर तुलाचन, शैलेन्द्र ताङ्वे, शान्ति गुरुङ, जीवन राई, पशुपति गुप्ता, मिलन गुरुङ, दिलु गुरुङ, लक्ष्मी गिरी, कल्पना पुन र ओमकाजी थापाले आफ्ना प्रस्तुति राखे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्तले शास्त्रीय संगीत लोपोन्मुख अवस्थामा पुगिरहेका बेला पोखरामा दुई वर्ष अघि स्थापित गुरुकुलले यति ठूलो कार्य गरेकोमा प्रशंसा गर्दै नवोदित प्रतिभाका लागि संगीतमा जोड्ने राम्रो माध्यमका रुपमा स्थापित भएको बताए । उनले आफूले जन्मथलो पोखरामा संगीत र नाट्य क्षेत्रमा केहि गर्ने प्रतिबद्धता समेत गरे । ‘राष्ट्रिय स्तरमा संगीत र नाटकको विकासका लागि दीर्घकालीन तथा अल्पकालीन योजना बनाउन लागिपरेका छौं ।’ सरुभक्तले भने– ‘आफ्नो यो पोखरामा संगीत र नाटक क्षेत्रमा महत्पूर्ण योगदान दिन सकेँ भने सौभाग्यशाली सम्झन्छु । यो बचनबद्धता म प्रकट गर्न चाहन्छु ।’
कार्यक्रमको अध्यक्षता समेत गरेका केन्द्रका संस्थापक प्राचार्य तीर्थराज पोखरेलले सुगम संगीतका स्रष्टाको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको बताउँदै कला र संगीतको विकासमा पोखरामा केहि योगदान गर्ने हेतुले अघि बढेको जनाए । ‘शास्त्रीय संगीत हराएको होईन । अहिले सुन्दा पनि नयाँ र नविन छ ।’ उनले भने– ‘श्रोता कम छन् तर जसले राम्रो संगीत सुन्दछ । हजारौं अन्य श्रोताभन्दा प्रभावकारी रहनेछ ।’ उनले पोखरामा हुने बिग आईकन जस्ता रियालिटो शोबाट उदाउने प्रतिभाहरुलाई खार्ने काम आफूहरुले गरेको दाबी गरे । आयोजक समिति संयोजक श्यामलाल श्रेष्ठले कार्यक्रम सफल बनाएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमको सञ्चालन गरेका बिग एफएमका अध्यक्ष महेश भण्डारीले पोखरालाई सांगीतिक शहरका रुपमा चिनाउने अभियानमा साथ दिएको बताए । ‘विगत पाँच वर्षदेखिे बिग आईकन आयोजना हुँदै आएको छ । बिग आईकनलाई प्लेटफर्म बनाएर सांगीतिक क्षेत्रमा होमिएकाहरुलाई गुरुकुलले शास्त्रीय संगीतको ज्ञान दिने काम गरेको छ ।’ भण्डारीले भने– ‘अभियान नै एकै भएपछि मैले पनि आफूले गर्न सक्ने साथ दिएको हुँ ।’ गुरुकूल प्रशिक्षण केन्द्रमा विभिन्न तहका शास्त्रीय संगीतका कक्षाहरु सञ्चालित छन् ।


